आईईएलटीएस प्रश्नपत्र लिक गरेको आशंकामा तीन जना पक्राउ, प्रहरीले छानबिन थाल्यो


काठमाडौं — अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषा परीक्षा (आईईएलटीएस) को प्रश्नपत्र चुहिएको आशंकामा प्रहरीले छानबिन सुरु गरेको छ । प्रहरी परिसर काठमाडौंले आईईएलटीएस परीक्षाको उत्तर मिलाइदिने भन्दै तीन विद्यार्थीबाट ४ लाख १० हजार रुपैयाँ असुल्ने सुरज लामा, गणेशराज उपाध्याय र विधान आचार्यलाई पक्राउ गरेको छ ।

 

 

सिंगापुरबाट आईटी पढेको बताउने सुरजले उत्तर मिलाइदिने र अन्य दुईले विद्यार्थी खोज्ने काम गरेका थिए । सुरज पुतलीसडकमा कन्सल्टेन्सी चलाउँदै आएका छन् । आईईएलटीएसको उत्तर भारतबाट एक एजेन्टले ह्वाट्स एपमा पठाइदिएको उनले प्रहरीलाई बयान दिएका छन् । शनिबार भएको उक्त परीक्षाको प्रश्नपत्र काठमाडौंस्थित ब्रिटिस काउन्सिलबाट माग्ने प्रहरीको तयारी गरेको छ ।

 

 

कालीमाटीबाट पक्राउ परेका तीनैजनाले विद्यार्थीलाई भाइबरमा उत्तर पठाएका थिए । प्रहरी स्रोतका अनुसार ४ सेट प्रश्नमध्ये रिडिङको एक र लिसनिङ टेस्टको एक सेटको उत्तर मिलेको देखिन्छ । सुरजले एक लाखदेखि दुई लाख रुपैयाँसम्म लिएर उत्तर बेच्ने चाँजो मिलाएको प्रहरीले जनाएको छ ।

 

 

सुन्धाराको एक गेस्टहाउसबाट प्रहरीले ९ विद्यार्थीलाई समेत पक्राउ गरेको थियो । ती सबैले चोरीको उत्तर पाएको आशंका गरे पनि तीमध्ये चारले मात्रै पैसा तिरेर उत्तर किनेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । आजको कान्तिपूरमा खबर छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement