स्वार्थी आईजीपी, जस्का कारण प्रहरीमा रोक्कियो बढुवा


-मातृका दाहाल
२०६९ साउन १३ गते शनिबार कारोबार दैनिकका लागि अन्तर्वार्ता लिन जाँदा प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाह नक्सालको प्रहरी हेडक्वार्टरसँगै जोडिएको सरकारी निवासमा पत्नी शंगम शाह र एकजना प्रहरी सहयोगीका साथ भेटिए । अन्तर्वार्ता लिन सँगै गएका कारोबारका प्रधानसम्पादक प्रतीक प्रधानले आइजीपी शाहलाई अनौपचारिक प्रश्न तेर्साइहाले–‘आइजीपीको निवास किन यति सुनसान ?’

प्रतीक प्रधानको कुरा भुइमा खस्न नपाउँदै आइजीपी शाहले पनि जवाफ फर्काइहाले– ‘प्रहरीलाई तपाइहरुले बाहिरबाट जसरी आरोप लगाउँनु हुन्छ, त्यो वास्तविकता भन्दा धेरै पर पनि हुनसक्छ नि ।’ प्रतीक प्रधान खिस्स हाँसे र भने, ‘अँ यस्तो पनि हुने रैछ’ ।

पुन आइजीपीले प्रत्युत्तरमा थपे, ‘आइजीपीले व्यक्तिगत स्वार्थ हेर्नुहुँदैन, यसो भयो भने कसैले दवाउन पनि सक्तैन र निवास वा कार्यालयमा अस्वभाविक भीडभाड जम्मा गरिरहनु पनि पर्दैन ।’ हुनपनि २०६८ जेठ १९ मा आइजीपी रमेश चन्द ठकुरी सुडान घोटाला कान्डमा बर्खास्त भएपछि अकस्मात आइजीपी बनेका शाहले करिव १५ महिना नेतृत्व सम्हाले ।

उनको कार्यकालमा प्रहरी संगठन त्यतिधेरै वदनाम भएन । र त्यति उल्लेखनीय काम पनि । तर व्यवसायिक रुपमा नेतृत्व सम्हाल्न शाह सफल नै रहे । चेन अफ कमान्ड उनको कार्यकालमा त्यतिधेरै खलवलिन पाएन । आइजीपी शाहसँगको यो प्रसंग कोट्याउनुको कारण संगठन प्रमुख असल वा खराव कुन किसिमको छ, त्यसले सिंगो संगठनको तस्बीर चमकदार वा कुरुप के बनाउँने भन्ने निर्धारण गर्छ । आइजीपी शाहपछि प्रहरीको नेतृत्वमा ५ जना आइसकेका छन् । कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल, दिनेशचन्द्र पोखरेल (जयबहादुर चन्द र नवराज लवालबीच नेतृत्व हानथापका कारण विवाद समाधान नभएसम्मका लागि डेढ महिना कामु आइजीपी) प्रकाश अर्याल र अहिले सर्वेन्द्र खनाल ।

यी पाँचजना जसरी नेतृत्वमा पुगे, सायद आफू कुर्सीमा विराजमान भएपछि आफ्ना प्रतिस्पर्धीलाई त्यही अनुसारको स्वभाविक व्यवहार कहिल्यै गरेको देखिएन । केही हदसम्म कुबेरसिंह रानाले व्यालेन्स मिलाएर सहकर्मीसँग व्यवहार गरेको देखियो । बाँकी आइजीपी उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल र अहिलेका सवेन्द्र खनालको व्यवहार स्वार्थ, प्रतिशोध, डाहा, इश्र्या, घमन्ड र सीमित घेराबाट बाहिर निस्कन नसकेको स्पष्ट छ ।

उपेन्द्रकान्त अर्याल ३९ महिना आइजीपी बने, उनको कार्यकाल सफल\असफल जे भएपनि आफ्ना सहकर्मी राजेन्द्रसिंह भण्डारी र सुरेन्द्रबहादुर शाहसँग कहिल्यै राम्रो सम्वन्ध कायम गर्न सकेनन् । सायद उपेन्द्र, राजेन्द्र र सुरेन्द्र मिलेर संगठन हाँकेको भए कुनैपनि शक्तिकेन्द्रले प्रहरीलाई यतिधेरै खेलौना बनाउँन पाउँदैन थियो । सुरक्षा मामिलाका जानकारहरुको पनि ठम्याई यही नै छ । बरु एकले अर्कालाई सिध्याउँनमै समय खर्चिए । त्यो तुस र मनमुटाव सायद अहिले पनि कायमै होला ।

अर्यालपछिको नेतृत्वका दावेदार नवराज सिलवाल, प्रकाश अर्याल र जयबहादुर चन्द आइजीपी बन्ने दौडमा थिए । सरकारले तेस्रो वरियताका चन्दलाई बनायो तर सिलवालले त्यसलाई स्वीकारेनन् र अदालत गए । अदालतबाट चन्दको निर्णय उल्टाउन सिलवाल सफल रहे । चन्दलाई कुनैपनि हालतमा नस्वीकार्ने सिलवालको नीति थियो । त्यसको फाइदा प्रकारान्तरले प्रकाशलाई भयो ।

चैत २७ गते प्रकाश आइजीपी बने । उनको नियुक्तिपछि स्वभाविक रुपमा संगठन अघि बढ्ने अपेक्षा कोरा कल्पनामै सीमित बन्यो । आफू आइजीपी बनेपछि अदालती प्रक्रियामै रहेका सिलवाललाई सम्झाएर सँगै काम गर्नेगरी उदार चरित्र नदेखाउनु उनको असफल र नेतृत्वमा हुने गुणको अभाव र कमजोरी थियो । सिलवाल कान्ड उनको कार्यकालमा भएको कहिल्यै नविर्सिने राजनीतिक हस्तक्षेपको चरम नमुना थियो । प्रकाशपनि सीमित घेराबाट माथी उठ्न सकेनन् ।

धेरैले ‘रोबर्ट आइजीपी’का रुपमा उनलाई अथ्र्याए । कतिपयले त प्रकाश अर्याललाई अडान लिन नसक्ने, क्षमता नभएको, मानवीयता नभएका, घामट, छुसी, बेरसिलो अनेक अनेकको उपमा पनि दिए । यही आरोपबीच अर्यालपनि सर्वेन्द्र खनाललाई नेतृत्व सुम्पेर प्रहरीबाट ५ महिना अघि नै विदा भइसके । २०७४ चैत २७ गतेदेखि सवेन्द्र खनाल नेतृत्वमा छन् । उनी नेतृत्वमा आएकै दिन प्रतिस्पर्धी रमेश खरेलले डीआइजीबाटै राजीनामा दिएर खनाललाई नस्वीकारेको प्रमाण पेश गरिदिए । सायद आफू अब्बल हुँदा हुँदै खनाललाई सरकारले नियुक्ति दिएको निष्कर्ष सहित खरेल संगठनबाटै बाहिरिए ।

पद, प्रतिष्ठा र इमानको खडेरीमा बहालवाला डीआइजी शक्ति र तागतिलो पद छोडेर बाहिरिनु कम चानचुने पटक्कै होइन । उनी बाहिरिएपनि सर्वेन्द्र खनालसँगै आइजीपीका प्रतिस्पर्धी पुस्कर कार्की सहितको सशक्त टिम डीआइजीका रुपमा अहिलेपनि कार्यरत छ । त्यतिमात्रै होइन, चैतमै एआइजीको बढुवा प्रक्रिया सुरु नगर्दा उत्तम कार्की सहितको एउटा सिनियर समूह राज्यको विभेदकारी नीतिकै कारण डीआइजीबाटै विदा भयो ।

यो समूह बाहिरिएपनि पुस्कर कार्की सहितको अर्को समूह एआइजीका लागि वेटिङमा छ । तर, आइजीपी खनाल आफू आइजीपी भइगएँ, अरुको बालमतलव भन्ने अहंकारी नीति सहित अघि बढेको स्पष्ट छ । नेपाली समाजमा यस्तो प्रवृत्तिलाई स्वार्थी व्यक्तिका रुपमा पनि हेर्ने गरिन्छ । चैतमै एआइजी बढुवा प्रक्रिया थाल्नुपर्नेमा खनाल आइजीपी भएको ५ महिना बित्न लाग्दा एआइजी बढुवा प्रक्रियाको अझै सुरसार छैन । अव त झनै असोज अघि बढुवा हुने छाँट नै छैन । किनकी आव २०७४\७५ को कासमु फाराम भर्नेकाम भर्खर सुरु भएको छ । यो प्रक्रिया असोज अघि सकिने छाँट छैन

त्यो बेलासम्म आफूसँगै आइजीपीका दावेदार पुस्कर कार्कि सहितको समूह डीआइजीमै रहँदा खनालले खुच्चिङको नीति अख्तियार गरेका छन् । यो संगठनका लागि मात्रै होइन, प्रतिशोधको भावना विकास गर्न झनै बल पुग्ने देखिएको छ । खनालको आफ्नै सहकर्मीमाथीको व्यवहार पूर्ववर्ती प्रकाश अर्याल र उपेन्द्रकान्त अर्यालका पालाको अर्को रुप पनि हो भन्न सकिन्छ ।

त्यसैले आइजीपीका रुपमा भएका अधिकार प्रयोग गरी तत्काल एआइजी बढुवाको गाँठो फुकाएर भोलिका दिनमा लाग्ने सम्भावित प्रतिशोध र अहंकारी व्यवहारबाट मूक्त हुन एआइजी बढुवामा सकारात्मक कदम चालेर क्षमता र दक्षताका आधारमा विभागीय नेतृत्वको जिम्मेवारी प्रदान गर्नु खनालका लागि हितकर हुने छ । होइन भने आफू नेतृत्वमा पुग्नका लागि खुबै व्यवसायिकता र सेलिब्रेटीकाे आडम्बर छाँट्ने र पुगीसकेपछि कम्बल ओढेर घिउ खाने पुरानो प्रवृत्ति अन्त्य हुने सम्भावना कहिल्यै हुने छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement