जस्तोसुकै परिस्थितिसँग लड्न प्रहरी संगठन तयार छः आईजीपी खनाल


काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले जस्तोसुकै परिस्थितिमा पनि सुरक्षा निकायले आ–आफ्नो भूमिका निर्वाह गर्न प्रहरी संगठन सदैव तत्पर रहेको बताए ।

सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आयोजित एक कार्यक्रममा बोल्दै मुलुकमा सीमावर्ती अपराध, प्रविधिको दुरुपयोगबाट सिर्जित अपराध लगाएत राष्ट्रिय सुरक्षाको बिषयमा बिभिन्न चुनौतीहरुको सामना गर्न सबै सुरक्षा संयन्त्रले एकिकृत रुपमा समन्वय गर्दै कार्ययोजना निर्माण गर्न आवश्यक रहेको बताउँदै प्रहरी जस्तोसुकै परिस्थितिसँग पनि लड्न तयार रहेको बताए ।

नेपाल सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई अझ बढी प्रभावकारी बनाउँदै चुस्त र दुरुस्त एवम् समयसापेक्ष सुदृढ गर्दै लैजाने नीति लिएको बताए ।

प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा कायम तथा अपराध नियन्त्रण गर्न राष्ट्रिय अनुसन्धान विभागले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी, प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी, राष्ट्रिय अनुसन्धान विभागका ७ जना सह–अनुसन्धान निर्देशक र १८ जना उप–अनुसन्धान निर्देशकहरुको सहभागिता रहेको थियो ।

साथै गृह मन्त्रीका सल्लाहकार, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ अधिकृत एवम् अन्य प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement