आइजीपी खनालबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं – प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आईतबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आइजीपी खनालले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

 गृह मन्त्रालय (सचिवस्तर) को २०७६ वैशाख २० गतेको निर्णय अनुसार ५४ जना पदोन्नति भएका हुन् ।५२ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । भने १ जना हाल संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत र १ जना क्रिया बिदामा रहेका छन् ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठन सर्वोत्कृष्ट बनाउन अझै तीव्रता र दृढताका साथ नेपाल सरकारको नीति अनुसार जिम्मेवार भएर काम गर्न निर्देशन दिए । पदोन्नतिसँगै थप जिम्मेवार र लगनशील भई तोकेको दायित्व पुरा गर्नुपर्ने चर्चा गर्दै उनले भने, ‘विगतका नराम्रा बानी भए सबै छोडनुस्, नयाँ काम गर्न थप उर्जाका साथ तयार र एकजुट हुनुस् ।’ पदोन्नति अघि जुनिएर प्रहरी अधिकृतको रुपमा काम गरी उनीहरुका भावना, पीडा, मर्का र अवस्थाको जानकार भई ती कर्मचारीसँग सामिप्यता राखी काम गरेको अनुभवले अब सिनियर प्रहरी अधिकृतसँग पुलको रुपमा काम गरी संगठनको श्रीवृद्धिमा ठूलो भूमिका निर्वाह गर्ने दायित्व आएको खनालले बताए ।

संगठनका १० बुँदे प्राथमिकतालाई मनन गरी तल्लो तहसम्म जानकारी गराउन र अक्षरस पालना गराउन उनले निर्देशन दिए । आइजीपी खनालले विध्वंसात्मक एवं गैर संवैधानिक गतिविधि नियन्त्रण गर्न संगठनको नीति निर्देशन र कानुनी प्रावधानमा रही विवेकपूर्ण निर्ममताकासाथ निडर भई स्पष्ट रुपमा अगाडि बढ्न निर्देशन दिए ।

हरेक काममा दक्ष हुनेतर्फ ध्यान दिई संगठनको मेरुदण्डको रुपमा रहेका मातहतका- कर्मचारीहरुलाई हौसला र प्रेरणा जगाउने गरी उर्जाका साथ काम गराउनुपर्ने विचार उनले व्यक्त गरे। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement