पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता


एजेन्सी- पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरूद्ध संसदमा अविश्वासको प्रस्ताव पेस भएको छ । पाकिस्तान मुस्लिम लिग–एन (पीएमएलएन) ले १४० जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेस गरेको हो । खानविरुद्ध अविस्वासको प्रस्ताव पारित हुन १७२ जना सांसदको संख्या आवश्यक हुन्छ ।

सदन नचलेको कारण उनिविरुद्ध मंगलबार राष्ट्रिय सभामा अविश्वास प्रस्ताव पेस गरिएको हो । पाकिस्तानको संविधानमा २५ प्रतिशत सांसदले हस्ताक्षर गरेर संसद बैठक बोलाउन सक्ने प्रावधान छ । पाकिस्तानका प्रधानमन्त्री खानलाई पदबाट हटाउन यसअघि समेत पटक पटक प्रयास भएको थियो ।

खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ(पीटीआई) सँग राष्ट्रिय सभामा १५५ सिट छ । उनले सेनाको बलमा साना दलहरुसंग मिलेर सरकार बनाएका थिए । खान २०१८ मा पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

गत वर्ष मार्चमा खानले विश्वासको मत लिएका थिए । त्यतिबेला उनले संसदको ३४२ संख्यामध्ये १७८ भोट पाएका थिए । खानलाई प्रधानमन्त्रीबाट हटाउन १७२ सिट आवश्यक पर्ने हुन्छ । जुन संख्या जुटाउन विपक्षीलाई सजिलो नभएको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री खानले समेत आफुले अविस्वासको प्रस्तावमा कुनै चिन्ता नगरेको भन्दै सरकार झन् बलियो हुने प्रतिक्रिया जनाएका छन् ।

विपक्षी दलहरुले महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका हुन् । यद्यपी खानले मंहगी रोकथामको प्रयास भने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement