राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३४७ मतदाता

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३४७ मतदाता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने उपनिर्वाचनमा बागमती प्रदेशसभाका ११० मध्ये १०९ सांसदले मतदान गर्नेछन् । एक सांसदको केही दिनअघि कोरोना संक्रमणका कारण निधन भएको थियो ।

त्यस्तै, स्थानीय तहका २ सय ३८ प्रमुख÷उपप्रमुखसमेत गरी कुल ३४८ मतदाता हुनेछन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय जनप्रतिनिधिको मतभार १८ गणना हुनेछ ।

निर्वाचन आयोगले उम्मेदवारलाई चिह्नसमेत प्रदान गरिरसकेको छ । आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बाग्मतीतर्फ उपनिर्वाचनका लागि तीन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकिएको प्रस्ट पारे । जसअनुसार सत्तारूढ नेकपा एमालेबाट उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सूर्य चिह्न पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल समूहबाट उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले कलम चिह्न पाएका छन् । नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवार कृष्णबहादुर तामाङले मादल चिह्न प्राप्त गरिसकेका छन् । आयोगले हेटौंडा भुटनीदेवी मावि मतदानस्थल तोकेको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उपनिर्वाचनका लागि अधिकृत कार्यालय स्थापना भइसकेको छ ।

कलम चिह्न पाएका देवकोटा संघीयता विज्ञ तथा एमालेनिकट बुद्धिजीवी मानिन्छन् । अर्का उम्मेदवार बादल भने केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् । नेकपा एकता हुनुअघि उनी माओवादी केन्द्रबाट उम्मेदवार थिए । उनलाई एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । बादलमाथि पार्टीले कारबाही गरेपछि उनको राष्ट्रिय सभा सदस्य पद गुमेको थियो । यसपछि उनको सोही स्थानमा उपनिर्वाचन हुन लागेको हो । -यो समाचार आजको राजधानी दैनिकमा छ ।