अब नेपाली युवतीले पनि भारतीय सेनामा भर्ती हुन पाउने


काठमाण्डु – भारतीय सेनामा भर्ती खुलेको छ । काठमाण्डुस्थित भारतीय दूतावास अन्तर्गतको कल्याणकारी शाखाले सोमबार विज्ञप्ति जारी गर्दै भारतीय सेनामा महिला सैनिक प्रहरीका लागि भर्ती खुलाएको हो ।

अब नेपाली महिलाले पनि भारतीय सैनिक प्रहरीका लागि भर्ती हुन पाउने भएका छन् । आगामी जुलाई २० सम्म इच्छुकले निवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । भारतको अम्बाल, लखनऊ, जवलपुर, बेलगाव, पुने र सिलाङमा भर्ती छनौट हुने भएको छ ।

१७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर ननाघेका, न्युनतम १० कक्षा पास गरेका र १५२ सेन्टिमिटर उचाइ भएकाले आवेदन दिन सक्ने भएका छन् । गोर्खा उम्मेदवारलाई ४ सेन्टिमिटरसम्म छुट दिइएको जनाइएको छ भने वीर नारीहरुको हकमा ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ ।

 नेपाली भाषामा जारी सूचनामा भैतिक परीक्षाको मापदण्ड पनि तोकिएको छ । सैनिक,भूपू सैनिक,वीर नारी र विधवा सैनिकका छोरीहरुको लागि तौलमा २ केजीको छुट र लिखित परीक्षामा २० अंकको बोनस प्राप्त गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement