भारतको सहयोगमा निर्मित धनगढीका प्रहरी विद्यालय, छात्रावास तथा शिक्षक भवनको उद्घाटन


काठमाण्डु – भारत सरकारको आर्थिक सहयोगमा धनगढीस्थित नवनिर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको उद्घाटन गरिएको छ ।

धनगढीमा बनाइएको उक्त भवनको आज बुधबार भारतीय राजदूतावासका सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले उद्घाटन गरेका हुन् ।

भारत सरकारको सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत ४ करोड २२ लाख ६० हजारको लागतमा उक्त नयाँ भवनहरुको निर्माण सम्पन्न गरिएको हो ।

सन् २००३ यता भारतले नेपालमा ५ सय २३ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ ।त्यस्तै, ४ सय ६७ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

तीमध्ये कैलालीका ८ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा परियोजना छन् । यसका साथै, भारतले कैलालीका लागि ८ वटा एम्बुलेन्स र ७ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।

सो उद्घाटन समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement