काठमाण्डु – नेपालको विरोधकाबीच भारत र चीनले नेपाली भूमि लिपुलेकको बाटो हुँदै सीमा व्यापार पुनः सुरु गरेका छन् ।
नेपालले लिपुलेक आफनो भूमी बताइरहेको बेला भारत र चीनले सीमा व्यापार पुनः सुरु गरेका हुन् ।
भारतको उत्तराखण्डको लिपुलेक दर्रा र सिक्किमको नाथु ला दर्रा हुँदै भारत र चीनबीच पुनः सीमा व्यापार सुरु भएको छ ।
सिक्किम हुँदै जाने ऐतिहासिक सिल्क रुट पनि शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । यससँगै सीमा पार व्यापारले गति लिने र भारतको पूर्वोत्तर क्षेत्रको सीमावर्ती अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा गरिएको छ ।
उत्तराखण्डस्थित लिपुलेक दर्रा हुँदै पनि भारत–चीन सीमा व्यापार पुनः सुरु भएको छ । चीनले पहिलो चरणमा २० जना भारतीय व्यापारीलाई तिब्बतको पुराङ–तकलाकोट जान अनुमति दिएको छ ।
प्रारम्भिक चरणमा व्यापारीहरू कुनै सामान नलिई सीमा पार गर्नेछन् । धारचुलाका उपजिल्ला अधिकारी (एसडीएम) तथा व्यापार अधिकृत आशीष जोशीका अनुसार सीमा व्यापारको सम्पूर्ण व्यवस्थापन बोर्डर ट्रेड अर्गनाइजेसनले गरिरहेको छ ।
भारत–चीन सीमा व्यापार संघले पहिलो चरणमा सन् २०२० मा तकलाकोटका भाडाका गोदाममा सामान छाड्न बाध्य भएका २० व्यापारीलाई प्राथमिकता दिने निर्णय गरेको छ ।
संघका अध्यक्ष जीवनसिंह रोंगकालीका अनुसार नयाँ सामान लैजानुअघि गोदाममा रहेका पुराना तथा बिक्री नभएका वस्तुको अवस्था बुझ्ने योजना छ ।
लिपुलेक दर्रा हुँदै भारत–चीन सीमा व्यापार सन् १९९२ मा पुनः सुरु भएको थियो । त्यसअघि सन् १९६२ को भारत–चीन युद्धपछि यो व्यापार पूर्ण रूपमा बन्द भएको थियो ।
यो व्यापार मुख्यतः उत्तराखण्डको पिथौरागढ जिल्लाका व्यास, दार्मा र चौदास उपत्यकाका भोटिया समुदायका व्यापारीहरूले गर्दै आएका छन् । सन् १९६२ अघि यी समुदायको पश्चिमी तिब्बतसँग शताब्दीयौँ पुरानो व्यापारिक सम्बन्ध थियो । व्यापार बन्द भएपछि उनीहरूले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको थियो ।
नाथु ला पनि सुचारु
कोरोना महामारीका कारण बन्द भएको दुई देशबीचको सीमा व्यापार ६ वर्षपछि पुनः सञ्चालनमा आएको हो । नाथु लाहुँदै सीमा व्यापार पहिलो पटक सन् २००६ जुलाई ६ मा सुरु गरिएको थियो । यो प्राचीन सिल्क रुट हो, जहाँ शताब्दीयौंदेखि भारत र चीनबीच व्यापार हुँदै आएको थियो ।
नाथु ला नाका प्रत्येक वर्ष मेदेखि नोभेम्बरसम्म अर्थात् छ महिनाका लागि खुला रहनेछ । यसका लागि आवश्यक कार्यविधिसमेत तय गरिएको छ ।
सीमा व्यापार सोमबारदेखि बिहीबारसम्म सञ्चालन हुनेछ । दुवै देशले हाल स्वीकृत गरेको ३६ वटा वस्तुको सूची यथावत् राख्ने सहमति गरेका छन् ।
लामो समय बन्द रहँदा र कठोर हिमाली मौसमका कारण जीर्ण बनेको नाथु ला एकीकृत जाँच चौकी मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याइएको छ ।
भारत–तिब्बत सीमा प्रहरी (आइटीबीपी)ले नाथु लामा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको छ । पहिलो पटक सीमा व्यापारको सुरक्षामा महिलाको पूर्ण टोली पनि खटाइने छ ।
सन् १९६२ को भारत–चीन युद्धपछि यो मार्ग ४४ वर्षसम्म बन्द रहेको थियो । त्यसपछि सन् २००६ मा पुनः सञ्चालनमा ल्याइएको थियो ।
तर सन् २०२० मा कोरोना महामारी फैलिएपछि नाथु ला हुँदै हुने सीमा व्यापार र कैलाश मानसरोवर यात्रा दुवै स्थगित गरिएको थियो ।
गलवान घटनापछि चिसिएका भारत–चीन सम्बन्धका बीच सीमा व्यापार पुनः सुरु हुनुलाई दुई देशबीच विश्वास पुनःस्थापनाको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । केही साताअघि मात्रै नाथु ला हुँदै कैलाश मानसरोवर यात्रा पनि पुनः सुरु गरिएको थियो ।
३६ वस्तुको व्यापार गर्न पाइने
भारतले चीनतर्फ ३६ प्रकारका स्वीकृत वस्तु निर्यात गर्न पाउनेछ । तीमध्ये प्रमुख वस्तुहरू हस्तकला तथा हातेकरघाका सामग्री, कम्बल
कृषि उपकरण, प्रशोधित खाद्यान्न, सुक्खा तरकारी, मसला, तयारी पोसाक, भाँडाकुँडा, परम्परागत धार्मिक सामग्री छन् ।
साथै तिब्बतबाट भारतमा आयात गर्न पाइने वस्तुहरूमा तयारी पोसाक जुत्ता, याकबाट बनेका सामग्री। याकको घ्यू, बोरेक्स, बाख्रा, सिरक र अन्य स्वीकृत सामग्री रहेका छन् ।
एक व्यापारिक सिजनमा करिब ३०० व्यापारीलाई अनुमति पत्र दिने व्यवस्था भए पनि हालसम्म सीमित संख्यामा मात्रै पास जारी गरिएको अधिकारीहरूले बताएका छन् ।




प्रतिक्रिया