भारत पठाइए आत्महत्या गर्छुः नीरव मोदी


एजेन्सी – भारतको पञ्जाब नेशनल बैंक (पीएनबी) सँग जोडिएको १३ हजार पाँच सय करोड रुपैयाँ घोटाला प्रकरणका एक मुख्य अभियुक्त हिरा व्यापारी नीरव मोदीको जमानतमा रिहाइ लण्डनको अदालतमा पाचौँ पटक खारेज भएको छ ।

अदालतको फैसलापछि धम्की दिँदै नीरव मोदीले घोटाला प्रकरणमा आफूलाई भारत पठाइए आत्महत्या गर्ने धम्की दिएका छन् । नीरव मोदीले आफूलाई जेलभित्र तीन पटक पिटेको बताएका छन् ।

उनले भारतमा निष्पक्ष जाँच नहुने भन्दै भारत पठाइए आत्महत्या गर्ने धम्की दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मंगलबार बिहान जेलभित्र दुई जना कैदी आएर नीरवलाई कुटपिट गरेको र भइँमा लडाएर पनि निकै कुटेको वकिलले बताएका छन् ।

यो आक्रमण नीरवलाई नै लक्षित गरेर गरिएको बताइएको छ । ती वकिलले जेलभित्रै यस्तो हुँदा पनि जेलका अधिकारीहरुले केही नगरेको बताए ।

नीरव बेलायतको सबैभन्दा भिडभाड हुने जेलमध्ये एक दक्षिण(पश्चिम बेलायतको वैङ्सवर्थ जेलमा कैद छन् । उनलाई गएको १९ मार्चमा गिरफ्तार गरिएको थियो ।

भारत सरकारको अनुरोधमा लण्डन पुलिसले प्रत्यर्पण वारेन्ट जारी गर्दै नीरव मोदीलाई गिरफ्तार गरेको थियो । भारतले नीरवलाई सुपुर्दगी गर्न बेलायत सरकारसँग माग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement