काठमाण्डु – कक्रोच जनता पार्टी (सीजेपी)ले गरेको आन्दोलनले चीनमा उल्लेखनीय ध्यान आकर्षित गरेको छ । चिनियाँ टिप्पणीकारहरूले यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बढ्दो राजनीतिक दबाबको संकेतका रूपमा व्याख्या गरेका छन् ।
चिनियाँ सञ्चारमाध्यम र शैक्षिक छलफलहरूमा यो आन्दोलनलाई मोदी सरकारको लोकप्रियता टिकाइराख्ने राजनीतिक कथानकका लागि चुनौतीका रूपमा प्रस्तुत गरिएको छ ।
वेइबोमा ‘भारतीय राजधानीमा ठूलो स्तरको प्रदर्शन सुरु’ भन्ने ह्यासट्यागले लाखौँ भ्युज पाएको थियो । एउटा व्यापक रूपमा साझा गरिएको पोस्टमा लेखिएको थियो– भारत फेरि अशान्तिमा छ ।
गुआन्चाका स्तम्भकार चेन झुओले लेखे, ‘भारतीय सरकारले हार स्वीकार गरेको छ ! ‘कक्रोच’ युवाहरूको विजयले मोदीसम्बन्धी लामो समयदेखिको भ्रम चकनाचुर पारेको छ ।’
अर्का टिप्पणीकारले भने कि प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवालाई कक्रोचसँग तुलना गरेको विषयबाट विवाद सुरु भए पनि त्यसपछाडिको आक्रोश वास्तविक रहेको छ । ती टिप्पणीकारका अनुसार यो आन्दोलनले ठूलो संख्यामा रहेका अवसरबाट वञ्चित भारतीय युवाको सामूहिक असन्तुष्टि प्रतिबिम्बित गर्छ ।
चिनियाँ अनलाइन प्लेटफर्महरूमा पनि यस्तै धारणा देखियो । झिहुमा प्रकाशित एउटा पोस्टले भारतमा व्यापक आक्रोश रहेको उल्लेख गरेको थियो भने वेइबो प्रयोगकर्ताले लेखेका थिए ‘मोदी सरकारप्रतिको बढ्दो असन्तुष्टिले भारतमा जेनेरेसन जेडको मोदीविरोधी आन्दोलन सुरु गराएको छ ।’
अर्का प्रयोगकर्ताले तर्क गरे कि जेनेरेसन जेड युवाहरूको असन्तुष्टि परीक्षा प्रश्नपत्र चुहावटको घटनाभन्दा बाहिर पुगेको छ र यसले भारतीय समाजभर मोदी सरकारप्रति व्यापक असन्तोष पैदा गरेको छ ।
चिनियाँ अनलाइन छलफलहरूमा सीजेपी आन्दोलनलाई प्रायः यही दृष्टिकोणबाट प्रस्तुत गरिएको छ । फुदान विश्वविद्यालयको अन्तर्राष्ट्रिय तथा सार्वजनिक मामिला विद्यालयका डक्टरल विद्यार्थी तथा दक्षिण एसिया अध्ययन समूहका सदस्य चेन झुओले सीजेपी आन्दोलनलाई मोदीले १२ वर्षे शासनकालमा सामना गरेका सबैभन्दा गम्भीर राजनीतिक चुनौतीमध्ये एक बताएका छन् ।
उनका अनुसार यो प्रदर्शनले भारतीय जनता पार्टी (भाजपा) बाहेक कुनै राष्ट्रिय सरकार नदेखेको पुस्तामा बढ्दो असन्तुष्टि देखाउँछ ।
‘नयाँ भारत’ र ‘विकसित भारत’को युगमा हुर्किएको पुस्ताका लागि भाजपा अब परिवर्तनको वाचा गर्ने दल मात्र नभई सत्तामा रहेको दल बनेको छ, जसलाई अब उसका वाचाभन्दा कामका आधारमा मूल्याङ्कन गरिन्छ ।
चेनले थपे, ‘मोदीको राजनीतिक उदय आंशिक रूपमा कांग्रेसविरोधी जनभावनाबाट सम्भव भएको थियो । तर अहिले त्यो फाइदा कमजोर हुँदै गएको हुन सक्छ, किनकि जनअसन्तुष्टि स्वयं भाजपातर्फ केन्द्रित हुन थालेको छ ।’
चिनियाँ पर्यवेक्षकहरूका लागि सीजेपी आन्दोलन भारतको तीव्र आर्थिक विकासमुनि रहेका गहिरा तनावहरूको प्रतिनिधित्व गर्छ । उनीहरूका अनुसार मोदीको चुनौती अब विपक्षी दलहरूसँग मात्र सामना गर्ने होइन, बरु यस्तो पुस्तालाई सम्बोधन गर्ने हो जसले उदाउँदो भारतको वाचा सुनेर हुर्किएको छ र अहिले त्यो वाचा आफूहरूका लागि रोजगारी, अवसर र सामाजिक उन्नतिको रूपमा लागू हुन्छ कि हुँदैन भनेर प्रश्न गरिरहेको छ ।
एक चिनियाँ टिप्पणीकारले मोदी सरकारका तीन प्रमुख कमजोरी औँल्याएका छन्–
पहिलो, आर्थिक वृद्धिले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र धेरै युवाहरू सीमित अवसरका कारण निराश बनेको ।
दोस्रो, महत्वाकांक्षी नीति निर्माण र स्थानीय तहमा त्यसको कार्यान्वयनबीचको दूरी ।
तेस्रो, संस्थाहरूमाथिको घट्दो विश्वास, विशेषगरी प्रतिस्पर्धात्मक परीक्षाहरूमाथि बारम्बार देखिएका अनियमितताले माथिल्लो सामाजिक–आर्थिक उन्नतिको एउटा प्रमुख बाटोमाथिको भरोसा कमजोर बनाएको
उनका अनुसार यही विश्वासको क्षयले सीजेपीलाई एउटा अनलाइन मजाकबाट व्यापक युवा असन्तुष्टिको प्रतीक बनाएको हो ।
आन्दोलनको भविष्य
गुआन्चामा प्रकाशित एउटा टिप्पणीले सरकारको प्रतिक्रियालाई आत्मविश्वासभन्दा बढी राजनीतिक चिन्ताको संकेतका रूपमा व्याख्या गरेको छ । आन्दोलन बढ्दै जाँदा नयाँ दिल्ली असहज देखिएको र भारतमा सीजेपीका सामाजिक सञ्जाल खातामाथि प्रतिबन्ध लगाइएको विषयलाई त्यसले उदाहरणका रूपमा प्रस्तुत गरेको छ ।
वेइच्याटमार्फत प्रकाशित चिनियाँ टिप्पणीमा भनिएको छ कि मोदीको वास्तविक चिन्ता दर्ता नभएको अनलाइन राजनीतिक पार्टी मात्र नभई त्यसको पछाडि रहेका लाखौँ युवाको आक्रोश हो ।
भारतको १.४ अर्ब जनसंख्याको झन्डै आधा भाग २५ वर्षभन्दा कम उमेरको रहेको र जेनेरेसन जेडको संख्या ३५ करोडभन्दा बढी रहेको उल्लेख गर्दै टिप्पणीकारले चेतावनी दिएका छन् कि यदि युवाका गुनासाहरूले राजनीतिक अभिव्यक्तिको बाटो पाएनन् भने सीजेपी केवल सुरुवात मात्र हुन सक्छ ।
२०२९ को चुनाव नजिकिँदै गर्दा यो भाजपाका लागि चुनौती बन्न सक्ने उनको भनाइ छ, किनकि भाजपाको समर्थन लामो समयदेखि युवा मतदातामा आधारित रहेको छ ।
मोदीले आफूलाई बारम्बार भारतका युवालाई भविष्यतर्फ डो¥याउने नेताका रूपमा प्रस्तुत गरेका छन् । तर टिप्पणीकारले प्रश्न गरेका छन्–जब युवाहरू परीक्षा चुहावट, उदासीन अधिकारी र सीमित आर्थिक अवसरको सामना गर्छन्, त्यसको जिम्मेवारी कसले लिनेछ ? अन्ततः यसको जवाफ सत्तारुढ दलले दिनुपर्ने उनको तर्क छ ।
चिनियाँ पर्यवेक्षकहरूका अनुसार सीजेपी आन्दोलन भारतको विकाससम्बन्धी कथानकलाई प्रश्न गर्न थालेको एउटा पुस्ताको संकेत हो ।
तर उनीहरूले आन्दोलनको सबैभन्दा ठूलो कमजोरी पनि औँल्याएका छन्–यसको संगठनात्मक अभाव ।
परम्परागत राजनीतिक दलहरूजस्तो सीजेपीसँग स्थापित संरचना, नेतृत्व तह वा लामो समयसम्म आन्दोलन चलाउन सक्ने संयन्त्र छैन । धेरै समर्थकहरू साझा असन्तुष्टिका कारण जोडिएका छन्, साझा राजनीतिक कार्यक्रमका कारण होइनन् ।
यसले बलियो भावनात्मक शक्ति त सिर्जना गरेको छ, तर रणनीतिक दिशा भने अझै अनिश्चित छ । लोकतन्त्रमा विरोध प्रदर्शन सामान्य प्रक्रिया हो । सीजेपीजस्ता आन्दोलनहरूले भारतका युवाहरूमा रहेको राजनीतिक चेतना र सत्ताविरोधी भावनालाई देखाउँछन् ।
चिनियाँ इन्टरनेटमा आन्दोलन, यसको कारण र भविष्यबारे व्यापक विश्लेषण भए पनि एउटा महत्त्वपूर्ण प्रश्न अझै धेरै हदसम्म अनुत्तरित छ–चीनका आफ्नै जेनेरेसन जेड युवाहरूले राजनीतिक अभिव्यक्ति र सामाजिक असन्तुष्टिलाई कसरी हेर्छन् ?
चिनियाँ छलफल धेरै हदसम्म भारतका युवामाथि केन्द्रित भएको छ, तर यसले अर्को ठूलो प्रश्न पनि उठाउँछ–यो बहसमा चीनका जेनेरेसन जेडका आवाजहरू कहाँ छ ?
डा. हाश्मी ताइवान–एसिया एक्सचेन्ज फाउन्डेसनकी फेलो हुन् । द प्रिन्टमा प्रकाशित हाश्मीको आलेखको नेपाली रूपानतरण




प्रतिक्रिया