भारतले भन्योः कोरोना भ्याक्सिन निर्यातमा प्रतिबन्ध लगाएको छैन


काठमाण्डु – भारतले सीरम इन्टिच्युडले उत्पादन गरेको एस्ट्राजेनेका खोप निर्यातमा रोक नलगाएको स्पष्ट पारेको छ ।

भारतीय विदेश मन्त्रालयले घरेलु मागलाई पूर्ति गर्नका लागि छिमेकी राष्ट्रहरुलाई दिइँदै आएको खोप निर्यात गर्न समस्या भएको बताएको छ ।

‘भारतले कोभिड–१९ भ्याक्सिनको निर्यातमा कुनै प्रतिबन्ध लगाएको छैन,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘हामी घरेलु मागलाई ध्यानमा राखी खोपहरू निर्यात गर्ने छौं ।’

पछिल्लो समय भारतमा कोरोना भाइरस संक्रमण बढ्दोक्रममा रहेकाले अर्डर भएका खोप दिन नसकिएको प्रवक्ता बागचीले जानकारी दिए । भारतमा कोरोना संक्रमण बढेपछि विभिन्न राज्यमा लकडाउनसमेत लगाइएको छ ।

भारतले खोपको निर्यातमा रोक लगाएपछि नेपालमा खोप अभियान प्रभावित हुने आशंका हुन थालेका छन् । भारतले जनवरीमा १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालमा खोप अभियान सुरु भएको थियो । पहिलो चरणको खोप लगाएका नागरिकहरुले दोस्रो चरणको खोप लगाउने पाउने वा नपाउने विषयमा अन्यौलता छाएको छ ।

भारतले खोपको निर्यातमा प्रतिबन्ध लगाएको खण्डमा नेपालले पहिले नै तिरेको २० लाख डोजमध्ये सिरमले १ लाख डोज प्रदान गरेको छ । सीरम संस्थानले अन्तिम अप्रिल २ सम्ममा एक मिलियन खुराक खोप दिने प्रतिबद्धता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement