भारतलाई दार्चुलाको जवाफः नेपाली भूमीमा अवरोध नगर


काठमाण्डु – भारतले नेपालको कालापनी, लिपुलेक र लिम्पियाधुरामा नेपालीलाई प्रवेश नगर्न पत्र काटेपछि नेपालले जवाफ फर्काएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई महाकाली सन्धीअनुसार कालापनी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएकाले अवरोध गर्न आग्रह गरेको छ ।

गृहमन्त्रालयको निर्देशनअनुसार भारतीय पत्रको जवाफ दिँदै जिप्रकाले नेपालको भूमीमा नेपालीले निर्वाध रुपमा आवातजावत गर्न पाउनुपर्ने बताएको छ ।

‘महाकाली सन्धीअनुसार उक्त भू–भाग नेपालको हो । त्यस भू–भागमा नेपालीले निर्वाध रुपमा आवातजातव गर्न पाउनुपर्छ । तिमिहरुले नेपालको भू–भागबारे निर्णय गर्न मिल्दैन भनेर हामीले जवाफ दिएका छौं’, सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले काठमाण्डुपाटीसँग भने ।

त्यस्तै प्रशासनले नेपाली भूमीमाथि नेपाली सुरक्षाकर्मीलाई निर्वाध रुपमा सुरक्षा गस्ती गर्न दिन पनि भनेको छ ।

‘हामीले नेपालको भूभागमा हाम्रा सुरक्षाकर्मीहरुले निर्वाध रुपमा गस्ती गर्न पाउनुपर्छ भनेर पत्रमार्फत जवाफ दिएका छौं’, उनले भने ।

भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न आग्रह गर्दै पत्र पठाएको थियो ।

जिप्रका दार्चुलालाई पत्र लेख्दै भारतको धार्चुला प्रशासनले भनेको छ, ‘बिभिन्न नेपाली गुटरसमूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस् । अतः यस प्रकारका कुनै सूचना तपाईहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला ।’

नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ । नेपाल सरकारले हालै कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि गतिविधि बढेको छ । हालै त्यहाँ नजिक सडकको ट्र्याक खोल्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement