नयाँ नक्सामा नेपालको सीमा कालापानीलाई परिमार्जन गरेका छैनौंः भारत


काठमाडौं – भारतको हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग परेको विषयमा नेपालमा विरोध भइरहेका बेला भारतले त्यसलाई अस्वीकार गरेको छ । नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको उसको दावी छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले भने, ‘हाम्रो नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ । तर नेपालसँगको सीमा (कालापानी)विवादबारे दुई देशको संयन्त्र रहेको भन्दै त्यसले समाधान गर्ने उनले बताए । साथै उनले दुई देशबीचको सम्वन्ध विगार्ने ‘भेस्टेड इन्ट्रेस्ट’ प्रति सचेत रहनुपर्ने पनि बताए ।

‘हाम्रो नक्साले भारतको सम्प्रभुतालाई देखाउँछ । नयाँ नक्सामा नेपालसँग जोडिएको सिमानामा कुनै भूगोल तलमाथि या हेरफेर गरिएको छैन’, उनले भने, ‘नेपालसँग सिमानामा अहिलेकै व्यवस्था अनुसार सम्बन्ध रहँदै आएको छ, यसमा कुनै हेरफेर भएको छैन ।’

प्रवक्ता कुमारले भारत आफ्ना निकट छिमेकीहरुसँग द्विपक्षी सम्बन्धका क्रममा उठेका सवाललाई वार्ताद्वारा समाधानका लागि तयार रहेको पनि उल्लेख गरेका छन् ।

‘हामी आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न आफ्नो प्रतिबद्धता दोहोर्‍याउँछौं’, उनले भनेका छन्, ‘साथै निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने कोशिश स्वार्थहरुविरुद्व एकजुट हुनु जरुरी भएको छ ।’

एक पत्रकारले उनलाई भारतको नयाँ नक्शालाई लिएर नेपालमा व्यापक विरोध भएको र नेपालको सरकारले पनि विज्ञप्ति प्रकाशित गरेको भन्दै यसमा भारतको आधिकारिक धारणा मागेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement