चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणमा भारतको तीव्र असन्तुष्टी


काठमाण्डु – चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको क्रममा मंसिर १४ गते नेपाल आउँदैछन् । उनी नेपाल–चीन सम्बन्धको ६५औं वर्षगांठका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल भ्रमणमा आउन लागेका हुन् ।

त्यो भन्दा अगाडि अर्थात मंसिर ११ गते भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने (मंसिर ११ र १२ गते) भ्रमणका लागि नेपाल आउने कार्यतालिका तय भएको छ ।

भ्रमणमा क्रममा श्रींगलाले नेपाली समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्नेछन् । त्यस्तै उनले अन्य राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

श्रृंगलाको भ्रमण नेपाल–भारतबीच उच्च स्तरीय भ्रमणको आदानप्रदानको निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । गत पुषमा भारतको विदेश सचिव नियुक्त भएका श्रृंगलाले पहिलो पटक नेपालको भ्रमण गर्न लागेका हुन् ।

दुई देशबाट हुने भ्रमणलाई नेपालमा विशेष चासोका साथ हेरिएको छ । यता भारतीय पक्षले चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई लिएर असन्तुष्टी जनाएको छ । नेपालका लागि पूर्वभारतीय राजदूत रणजित रायले नेपालले भारतीय सेना प्रमुखको भ्रमणलगत्तै सन्तुलन मिलाएर चिनियाँ रक्षामन्त्रीलाई आमन्त्रण गरेजस्तो देखिएको आरोप लगाएका छन् ।

एसियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल रिलेसन–एआईडीआईएले भारतको विवेकानन्द इन्टरनेसनल फाउन्डेसनसँगको सहकार्यमा सोमबार आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध’ वेबिनारमा बोल्दै पूर्वराजदूत रायले भारतको विषयमा नेपाल संवेदनशील नदेखिएको बताएका हुन् ।

उनले भारत–चीनबीच अहिले रक्षा र सैन्य मामिलामा तनाव चलिरहेका बेला चिनियाँ रक्षामन्त्रीलाई बोलाएर भारतको संवदेनशीलताप्रति नेपाललाई कुनै प्रकारको चिन्ता नभएको सन्देश दिन खोजेको आरोप लगाए ।

त्यस्तै पूर्वराजदूत रायले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गरेको भेटवार्तालाई लिएर पनि शंकाको ध्येयले हेरेका छन् । उनले नेकपाभित्रको विवाद चर्किएरहेका बेला चिनियाँ राजदूतको सक्रियताबारे असन्तुष्टी जनाएका हुन् ।

‘नेपालले भारतीय सेना प्रमुखको भ्रमणलगत्तै सन्तुलन मिलाएर चिनियाँ रक्षामन्त्रीलाई आमन्त्रण गरेजस्तो देखिन्छ । यो अलि अस्वभाविक छ । तीन वर्षमै चिनियाँ रक्षामन्त्रीको दोस्रो पटक नेपाल भ्रमण हुनु त्यति सामान्य लाग्दैन’, उनले भनेका छन्, ‘नेपाल र चीनबीच खासै सैन्य गतिबिधि भएको छैन । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच धेरै विषयमा सहकार्य भएजस्तो लाग्दैन । यो भ्रमणको के महत्व हो भन्ने थाहा छैन ।’

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रूपमा भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । यसअघि भारतीय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको समेत नेपाल भ्रमण भएको थियो ।

रक्षामन्त्री फेङ्हेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

काठमाण्डुस्थित चिनियाँ राजदूतावासले आयोजना गर्ने द्धिदेशीय सहयोग समन्वयको बृहत कार्यक्रममा समेत उनले सहभागी जनाउनेछन् ।

तत्कालिन रक्षामन्त्री ईश्वर पोखरेलले सन् २०१९ को अक्टोबरमा चीनको भ्रमण गरेका थिए । पोखरेलको चिनियाँ रक्षामन्त्री फेङ्हेसँग राम्रो व्यक्तिगत सम्बन्ध समेत छ ।

उनको भ्रमणका बेला २.५ विलियन बराबरको सैन्य सहयोग नेपाली सेनालाई दिने सहमतिमा हस्ताक्षर समेत भएको थियो । त्यसपछि गत जुलाईमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको समेत चीन भ्रमण भएको थियो ।

त्यसैको निरन्तरतास्वरुप चीनबाट उच्चस्तरको भ्रमण हुन लागेको हो । तत्कालिन रक्षामन्त्री पोखरेलले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

चिनियाँ राष्ट्रपति सी चिनफिंगले गत वर्षको अक्टोबर १२–१३ मा नेपालको भ्रमण गरेका थिए । त्यसयता चीनबाट उच्चस्तरिय भ्रमण भएको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement