निर्भया बलात्कारका ४ अपराधीलाई फाँसी पर्खंदै भारत, ८ दिन बाँकी


काठमाडौं – सन् २०१२ डिसेम्बर १६ । भारतको राजधानी नयाँदिल्लीमा चलिरहेको यात्रु बसमा एक युवतीमाथि सामूहिक बलात्कार भयो । जुन घटना निर्भया सामूहिक बलात्कार काण्ड भनेर हालसम्म चर्चित छ ।अदालतले घटनाका चार जना दोषीलाई आगामी २२ जनवरीमा फाँसी दिने गरी मिति तोकेको छ । घटनामा अदालतले अक्षय, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई यसअघि नै दोषी करार गरिसकेको थियो ।

बलात्कार घटनाका दोषीलाई फाँसी हुने फैसला भएपनि उनीहरूले आममाफीका लागि राष्ट्रपतिसम्म आग्रह गर्नसक्ने भएकाले अदालतको फाँसीको फैसला कार्यान्वयनमा ढिलाइ भइरहेको थियो । बहुचर्चित निर्भया बलात्कार काण्डका दोषीलाई अब भने फाँसी हुने मिति समेत तय भइसकेको छ ।

फाँसीको सजाय कार्यान्वयन हुनुअघि दोषी विनयकुमार शर्मा र मुकेश सिंहले पेश गरेको ‘उपचारात्मक याचिका’लाई मंगलबार सर्वाेच्च अदालतले खारेज गरिदिएको छ । सर्वाेच्चका न्यायाधीश एनवी रमन्ना नेतृत्वको पाँच न्यायाधीश सम्मिलित बेन्चले दुवै दोषीको याचिका खारेज गरेको छ ।

अदालतले याचिका खारेज गरेपछि बलात्कार पीडित निर्भयाकी आमा आशादेवीले भनिन्, ‘वर्षाैदेखि न्यायका लागि संघर्ष गरिरहेका थियौं । दोषीलाई फाँसी हुने २२ जनवरीको दिन ठूलो दिन हुनेछ ।’ निर्भयाकी आमा मात्रै नभई देशभर चर्चित भएको घटना भएकाले पूरै भारत दोषीको फाँसीको पर्खाइमा छ । अदालतले २२ जनवरी बिहान ७ बजे फाँसी हुने गरी तोकेको छ । फाँसीको सजाय हुन अब ८ दिन बाँकी छ ।

सन् २०१२ सालमा चलिरहेको बसमा २३ वर्षीया छात्रा निर्भयामाथि सामूहिक बलात्कार भएको थियो । बलात्कारबाट गम्भीर घाइते भएकी निर्भयालाई सडक किनारमा फालिएको थियो । धेरै दिनको उपचारपछि निर्भयाको मृत्यु भएको थियो ।घटनापछि राजधानी नयाँदिल्लीसहित देशभर व्यापक प्रदर्शन भएको थियो । त्यसपछि भारत सरकारले न्यायाधीश बर्मा समिति गठन गरेर महिलाविरुद्ध हुने हिंसाको कानूनी समीक्षा गरेको थियो ।

सन् २०१३ मा कानूनमा संशोधन गर्दै बलात्कारका जघन्य घटनामा फाँसीको सजाय हुने प्रावधान बनाइएको थियो । फाँसीको सजाय हुने व्यवस्था भएपनि कार्यान्वयनको प्रक्रिया लामो भएकाले बलात्कार भएको झण्डै ८ वर्षपछि अपराधीलाई सजाय हुन लागेको छ ।

निर्भया बलात्कारका अपराधीलाई फाँसीको सजाय भएमा महिला हिंसा र बलात्कारका घटनामा कमी आउने अपेक्षा गरिएको छ । बलात्कारका दोषीलाई निर्मम सजाय नभएका कारण बलात्कारीको मनोबल बढ्ने गरेको महिला अधिकारकर्मीले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement