अमेरिकी लेफ्टिनेन्ट जनरलपछि भारतीय सेना प्रमुख र एसएसबी प्रमुख नेपाल आउँदै

अमेरिकी लेफ्टिनेन्ट जनरलपछि भारतीय सेना प्रमुख र एसएसबी प्रमुख नेपाल आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाका अमेरिकी सैन्य रणनीतिअन्तर्गतको इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर लेफ्टिनेन्ट जनरल जोशुआ एम.रुडले नेपाल भ्रमण गरे लगत्तै भारतीय दुई सुरक्षा निकायका प्रमुखले पनि नेपाल भ्रमण गर्ने मिति तय भएको छ । भारतीय सेनाका प्रमुख उपेन्द्र द्विवेदी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक अमृत मोहनप्रसाद नेपाल आउने मिति तय भएको हो ।

दुवै जना आफ्नो संगठनको प्रमुख भएपछि पहिलो पटक नेपाल आउन लागेका हुन् । एसएसबी प्रमुख मोहनप्रसाद ३० कात्तिकमा र सेना प्रमुख द्विवेदी ४ मंसिरमा नेपाल आउने मिति निश्चित भएको गृह मन्त्रालय निकट स्रोतले जानकारी दियो ।

भारतीय सेना प्रमुख नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गर्न नेपाल आउन लागेको नेपाली सेना निकट स्रोतले जानकारी दियो । द्विवेदीको नेपाल भ्रमणका क्रममा सहयोग आदान– प्रदानबारे पनि महत्वपूर्ण छलफल हुने सैनिक स्रोतले जानकारी दिएको छ । द्विवेदी ३० जुन २०२४ मा भारतीय स्थल सेना प्रमुख नियुक्त भएका थिए ।

त्यस्तै एसएसबी प्रमुख मोहनप्रसाद नेतृत्वको नौ सदस्यीय टोली सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालको निम्तोमा नेपाल आउन लागेका हुन् । सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षाबलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन उनी नेपाल आउन लागेका हुन् । सो बैठक आगामी मंसिर १ र २ गते काठमाडौंमा हुने तय भएको छ।

गत भदौमा हुनुपर्ने बैठक बङ्गलादेशमा राजनीतिक उथलपुथललाई भएपछि रोकिएको थियो । बैठकमा सीमापार अपराध नियन्त्रण लगायतका एजेन्डामा छलफल हुने गृह मन्त्रालयले जानकारी दिएको छ ।

भारतको गृह मन्त्रालय अन्तर्गत केन्द्रीय सशस्त्र प्रहरी बललाई नेपाल र भुटानसँगको भारतीय सिमाना हेर्ने जिम्मेवारी दिइएको छ ।

अहिले २३ कात्तिकमा मध्यान्ह काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अमेरिकी सैन्य रणनीतिअन्तर्गतको इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर लेफ्टिनेन्ट जनरल जोशुआ एम.रुड नेतृत्वको चार सदस्यीय टोली नेपाल भ्रमणमा छ ।

अमेरिकी दूतावासका अनुसार टोली चार दिने भ्रमणका लागि काठमाडौँ आएको हो । भ्रमण टोलीमा लेफ्टिनेन्ट कर्णेल ब्राण्डन क्रुपा, दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका लागि रणनीतिकार तथा नीति सल्लाहकार रमा मुत्याला, राजनीतिक सल्लाहकार सेहजी खान र सञ्चार अधिकृत डस्टिन ह्विटाकार छन् ।