भारतीय सेनामा कार्यरत नेपालीहरुको वीरता विश्वमै अनुकरणीयः भारतीय जनरल रावत


काठमाण्डु – भारतीय सेनाको चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले नेपाल र भारतको विद्यमान सम्बन्ध थप सुदृढ गर्नु पर्ने बताएका छन् ।

नयाँ दिल्लीको सेन्टर फर ल्यान्ड वारफेयर स्टडिज तथा नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल कोअपरेसन एन्ड इंगजमेन्टद्वारा आयोजित सेमिनारमा बोल्दै रावतले दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्नु पर्ने बताएका हुन् ।

‘दुवै देश (नेपाल र भारत)का जनताको शान्ति र समृद्धिका लागि हरेक तवरमा पहिलेदेखिको विद्यमान सम्बन्धलाई अझ सुदृढ पार्नु आवश्यक छ,’ उनले भने ।

जनरल रावतले चीनसँग भौगोलिक रूपमा उत्तरी हिमाली अवरोध र भारतको गंगा मैदान जोड्ने सहज सिमानालाई बुझ्न पनि नेपाललाई सुझाब दिएका छन् ।

‘वर्तमान समयमा नेपालले आफ्नो स्वतन्त्र परराष्ट्र नीतिको आधारमा चीनलगायत अन्य देशहरूसँग सम्बन्ध विस्तार गरिरहेको छ, अन्तर्राष्ट्रिय मामिलामा नेपाल आफ्नो छनोटको प्रयोग गर्न स्वतन्त्र छ,’ जनरल रावतले भने, ‘तर, नेपालले यो क्षेत्रका मुलुकहरूसँग श्रीलंका र अन्य राष्ट्रहरूले गरेको सम्झौताका केही घटनाहरूबाट सिक्नुपर्छ र नेपाल सतर्क हुनुपर्छ ।’

जनरल रावतले नेपालको सिमाना भारत र चीनसँग तुलना गर्न नसकिने पनि बताए । उनले १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिले भारतमा नेपालीहरूलाई उल्लेख्य फाइदा भएको भन्दै तारिफ गरे ।

उनले रक्षा क्षेत्रमा नेपाल र भारतबीच बृहत्तर सम्बन्ध रहेको भन्दै नेपाली सेनाको संगठन, सैनिक प्रशिक्षण, अभ्यासमा भारतले सहयोग गर्दै आएको र निरन्तर रहने पनि उल्लेख गरे ।

भारतीय सेनाअन्तर्गतका सात गोर्खा रेजिमेन्टका ३६ बटालियनमा हाल ४२ हजार नेपाली नागरिक रहेका छन् ।

जनरल रावतले भारतीय सेनामा कार्यरत नेपालीहरूको इमान्दारिता, बफादारी, मिहिनेतको प्रशंसा गर्दै जनरल रावतले गोर्खालीहरूको वीरता विश्वमै अनुकरणीय भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement