भारतीय सेनाले महिला मिलिट्री पुलिसमा नेपालीलाई भर्ती हुन रोक लगायो


एजेन्सी – भारतीय सेनाले महिला मिलिट्री पुलिसमा नेपालीलाई भर्ना हुन रोक लगाएको छ । भारतीय सेनाले आफ्नो गोर्खा रेजिमेन्टमा नेपालीलाई रोक लगाउने र भारतीय गोर्खालीहरुलाई प्राथमिकता दिने नीति अन्तर्गत नेपालीलाई भर्ना हुन रोक लगाएको हो ।

गएको मे महिनाको २८ तारिखमा भारतीय सेनाले १०० जना महिला मिलिट्री पुलिस भर्ना गर्नेगरी सूचना निकालेको थियो । सूचनामा नेपाली र भारतीय गोर्खालीहरु सहभागी हुन पाउने भनिएको थियो । तर, भारतीय सेनाले यसमा भर्ती हुन नेपालीलाई रोक लगाएको इन्टरनेशनल बिजनेस टाइम्सले जनाएको छ ।

गएको महिनाको अन्तिममा भारतीय सेनाले महिला सैनिकलाई जनरल ड्युटीको अनुमति दिइएको आफ्नो एकमात्र शाखाका लागि १०० महिला मिलिट्री पुलिस भर्ती गर्ने सूचना निकालेको थियो, जसमा नेपाली र भारतीय गोर्खालीले आवेदन दिन सक्ने भनिएको थियो । तर, इन्टरनेशनल बिजनेस टाइम्सका अनुसार भारतीय सेनाले त्यसपछि एक संशोधन जारी गरेको छ । जसमा भारतीय गोर्खालीहरु मात्रै भर्ती हुन पाउने उल्लेख गरिएको छ ।

भारत स्वतन्त्र भएयता भारतका हरेक युद्धमा गोर्खालीहरु सहभागी भएका छन् । भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपालीहरुको भर्ती नेपाल, भारत र बेलायतबीचको त्रिदेशीय सम्झौतामा आधारित छ । यो सम्झौता तीन देशबीच १९४७ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement