मोदीलाई सुरक्षा दिन ४४ सदस्यीय भारतीय कमान्डो काठमाडौंमा


काठमाडौं – भारतीय वायुसेनाको चार्टर विमानमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुरक्षा दिन सुरक्षा सामग्रीसहित करिब ४ दर्जन सुरक्षाकर्मी र दुइटा बुलेट प्रुफ लेमोजिन कार मंगलबार बिहान काठमाडौं ल्याइएको छ ।मोदीका यी दुइटै कार काठमाडौंमै राखिनेछ ।

एउटा कार यसअघि नै जनकपुर ल्याइसकिएको छ । एकैछिन उपयोग गरेर फर्काउने गरी उक्त कार सडकमार्गबाटै ल्याइएको हो।  आजको कान्तिपुर दैनिकमा खबर छ।

काठमाडौं ल्याइएका कारका चालक दलका १६ सदस्य र ४४ सदस्यीय सुरक्षा कमान्डो नेपाल आइपुगेका जानकारी अधिकारीहरूले दिए । नेपाली सेनासँगको सहकार्यमा उनीहरूले मोदीलाई छुट्टै घेरामा रहेर सुरक्षा दिने जनाइएको छ।

पछिल्लो समय मोदीमाथि बढी नै ‘सुरक्षा थ्रेट’ रहेकाले पनि कमान्डो र बुलेट प्रुफ गाडी ल्याइएको हो । सुरक्षाविज्ञका अनुसार यी कार एम्बुसमा परे वा त्यसमाथि बम प्रहार भए पनि गाडीमा सवार यात्रु सुरक्षित रहन्छन्।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण तयारीबारे परराष्ट्र मन्त्रालयमा आन्तरिक ‘ब्रिफिङ’ भएको छ। मोदी आउनु तीन दिनअघि तयारीका सबै पक्षमा छलफल गरिएको हो। छलफल भ्रमणको सुरक्षा व्यवस्था, जनकपुर, काठमाडौं र मुक्तिनाथमा स्वागतको तयारीलगायत विषयमा केन्द्रित रहेको जानकारी एक सहभागीले दिए।

ती अधिकारीका अनुसार समयतालिका, नागरिक अभिनन्दन, बाटोघाटोको सुधार, सहरको सज्जा, सुरक्षालगायत विषयमा पनि छलफल भएको थियो । यस अलावा मोदीका लागि भारतबाट ल्याइएका २ वटा बुलेट प्रुफ कारको उपयोगिता र उनको सुरक्षाका लागि भारतबाट आएका सुरक्षाकर्मीलगायतको विषयमा पनि छलफल भएको अधिकारीले जनाए।

प्रतिक्रिया दिनुहोस
Advertisement