राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा भारतीय विदेश सचिव काठमाण्डु आउंदै


काठमाण्डु- भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्रसचिव भरतराज पौडेलको निम्तोमा क्वात्रा तीन दिने नेपाल भ्रमणका लागि सोमबार काठमाण्डौं आउने तय भएको स्रोतले जानकारी दियो ।

नेपालमा राष्ट्रपति निर्वाचनको पुर्व सन्ध्यामा क्वात्राको भ्रमण हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । सत्तारुढ दलहरुबीच राष्ट्रपति कसलाई बनाउने भन्नेमा विवाद चलिरहेको छ ।

अमेरिकी उच्च अधिकारीहरुको एकपछि अर्को नेपाल भ्रमण भइरहेको बेला दक्षिणी छिमेकी मुलुकबाट समेत सचिव स्तरको भ्रमण हुन लागेको हो । क्वात्रा यसअघि नेपालका लागि भारतिय राजदूत थिए ।

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल निर्वाचित भएपछि क्वात्राले उनलाई टेलिफोनमार्फत बधाई दिएका थिए । त्यही बेला दाहालले उनलाई नेपाल भ्रमणमा आउंन आग्रह समेत गरेको स्रोतले बतायो । उनको भ्रमणलाई प्रधानमन्त्री दाहालको भारत भ्रमणसंग समेत जोडिएर हेरिएको छ ।

दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट गर्ने घोषणा गरेपनि भारतले अहिलेसम्म उनलाई औपचारिक निम्तो भनेको पठाएको छैन । उनले भारत भ्रमणका लागि अनौपचारिक ढंगले पहल समेत सुरु गरेको स्रोत बताउंछ ।

दाहालको भारतअघि कतार र अमेरिका भ्रमण हुन सक्ने सम्भावना छ ।

भारतीय विदेश सचिव क्वात्राले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री दाहालसंगै राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री विमला पौडेल राई, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement