रास्वपा सांसद् रानाले ‘हजारौँलाई जेल हाल्न सक्छु’ भनेपछि सभामुखले सचेत गराए

रास्वपा सांसद् रानाले ‘हजारौँलाई जेल हाल्न सक्छु’ भनेपछि सभामुखले सचेत गराए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद इन्दिरा रानामगरले सामाजिक सञ्जालमार्फत आफूलाई लक्षित गरी झुटा र अपमानजनक आरोप लगाइएको भन्दै प्रतिनिधिसभामा आपत्ति जनाएकी छन् ।

सोमबार बैठकमा प्रस्तावित मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) विधेयक २०६४ लाई संशोधन गर्न बनेको विधेयक–२०८३ माथि धारणा राख्ने क्रममा
उनले प्रमाणबिनै व्यक्तिको प्रतिष्ठामाथि प्रश्न उठाउने काम स्वीकार्य नहुने बताइन् । आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिँदै रानाले प्रमाण भए सार्वजनिक गर्न भनिनु ।

आफूमाथि भइरहेको आरोपबारे कडा प्रतिक्रिया दिँदै उनले चाहेमा हजारौँ व्यक्तिलाई जेलसम्म पुर्‍याउन सक्ने चेतावनी दिइन् ।
यद्यपि राज्यको स्रोतस आफ्नो स्वार्थका लागि प्रयोग गर्न नचाहेकाले त्यसो नगरेको जिकिर उनको थियो ।

‘आज म चुनौती दिन्छु, म तपाईँहरूलाई म अहिले लाने भने हजारौँ जनालाई म जेल लान सक्छु । तर म गर्दिनँ । एक पैसा पनि सरकारको मेरो नाममा म यो खर्च गर्न चाहन्न । तर म चुनौती दिन्छु,’ रानाले भनिन् ।

उनले महिलामाथि मात्रै केन्द्रित नभई पुरुष, युवा र बालबालिकालाई समेत संरक्षण हुने गरी सम्बन्धित विधेयकलाई व्यापक बनाउनुपर्ने धारणा राखिन् । कानुनी संरक्षण सबै वर्ग र समूहका लागि समान हुनुपर्ने उनको जोड थियो ।

रानाले आफ्नो धारणा राख्ने क्रममा सामाजिक सञ्जालमा आफूविरुद्ध भइरहेका टिप्पणीको प्रसंगसमेत जोडेर आक्रोश व्यक्त गरेपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई विषयवस्तुमा केन्द्रित हुन भन्दै सचेत गराएका थिए ।

‘माननीय सदस्य, विषयवस्तुबाट बाहिर जानुभयो,’ सभामुख अर्यालले भनेका थिए ।

रानाले भने आफूले उठाएको विषय छलफल भइरहेको विधेयकसँगै सम्बन्धित रहेको दाबी गर्दै बचाउ गरिन् ।