चुनावअघि लालपूर्जा नबाँड्न भूमि आयोगलाई निर्देशन


काठमाण्डु – निर्वाचन आयोगले लालपुर्जा वितरण कार्य तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्य स्थगन गरी सोको जानकारी दुई दिनभित्र दिन निर्देशन दिएको हाे ।

निर्वाचन घोषणा भई आवश्यक तयारीका काम भइरहेको तथा असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनका लागि बन्दसूची पेस गर्ने कार्यक्रमसहित अन्य कार्यक्रम सञ्चालन हुने गरी राजपत्रमा सूचना प्रकाशित भइसकेको भन्दै आयोगले निर्वाचनको निष्पक्षताका लागि यस्तो निर्देशन दिइएको जनाएको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘आसन्न निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौंलाई निर्देशन दिएको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement