ककपिटमा निदाउने पाइलट निलम्बित, पाकिस्तानी आइपी नियुक्त


काठमाडौं – नेपाल वायुसेवा निगमले एयरबस ३२० को प्रशिक्षक पाइलट (आइपी) लाई जहाज उडान गर्न प्रतिबन्ध लगाएको छ ।

आइपी नागराज जहाजको ककपिटमै निदाएको फोटो सार्वजनिक भएपछि नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निगमसँग अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । क्यानको निर्देशन अनुसार निगमले न्यारोबडी जहाजका आइपी नागराजलाई अघिल्लो हप्ताबाट उडान प्रतिबन्ध लगाएको थियो ।

प्रशिक्षक पाइलट नागराज ककफिटमै निदाएको विषयमा छानबिन गर्न क्यानले दिएको निर्देशनअनुसार निगमले ३ सदस्यीय अध्ययन समिति गठन गरेको छ । छानबिन समितिमा हवाइ उडान हवाई सुरक्षा विशेषज्ञ रहेका बरिष्ठ पाइलट युवराज भट्टराई, अपरेसन विभागका डेपुटी डाइरेक्टर दिपु रुहार्जन र इन्जिनियर दिवाकर बन्जारा छन् ।

छानबिन समितिले ककपिटमा निदाउने पाइलट नागराज, उनीसँगै रहेका अन्य क्याप्टेन, को–पाइलटसँगसमेत बयान लिई प्रतिवेदन बुझाउनेछ । वैशाख २६ देखि उनी बिदामा छन ्। नागराज निगममा फर्केलगत्तै बुधबार वा बिहीबारसम्म समितिले उनीसँग बयान लिई क्यानलाई प्रतिवेदन दिने निगम स्रोतले जनाएको छ ।

त्यस्तै निगमले नयाँ आइपी नियुक्त गरेको छ । संयोगबस प्रतिबन्धमा परेका प्रशिक्षक पाइलट भारतीय हुन् । उनको स्थानमा नियुक्ति गरिएका नयाँ आइपी पाकिस्तानी नागरिक हुन् । नागराज बिदामा बसेको फाइदा उठाउँदै निगमको अपरेसन विभागले दुई महिना अघिमात्र निगममा काम थालेका पाकिस्तानी पाइलट गनीलाई नयाँ प्रशिक्षक पाइलट (आइपी) का रुपमा उडान अनुमति दिएको हो ।

अपरेसन विभागका प्रमुख रविन्द्रकुमार शेरचन (आरके)ले काठमाडौँ–दिल्ली र दिल्ली–काठमाडौँ उडानमा आइपी बनाएर पठाएका हुन् ।

निगमको एयरबस ३२० का लागि नेपाली आइपी सुवास रिजाल हुँदाहुँदै १५ हजार अमेरिकी डलर तिर्ने गरी प्रशिक्षक पाइलटका रुपमा गनीलाई ‘हायर’ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement