आईपीएलमा आज बेंगलुरु र हैदराबाद खेल्दै

आईपीएलमा आज बेंगलुरु र हैदराबाद खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा शुक्रबार रोयल च्यालेन्जर्स बेंगलुरुले सनराइजर्स हैदराबादको सामना गर्दै छ । खेल लखनउस्थित अटल बिहारी बाजपेई (इकाना) स्टेडियममा नेपाली समय अनुसार राति ७ : ४५ बजे सुरु हुनेछ ।

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ६५औँ खेल हो । इकाना स्टेडियममा बेंगलुरु र हैदराबाद पहिलो पटक आपसमा भिड्न लागेका हुन् । हैदराबाद र बेंगलुरु दुबैले जारी सिजनमा आफ्नो १३औँ खेल खेल्न लागेका हुन् । बेंगलुरु प्रतियोगिताको प्ले–अफ चरणमा पुगिसकेको छ ।

अर्कोतिर, हैदराबाद यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । क्वालिफायर–१ खेल्ने लक्ष्यमा रहेको बेंगलुरुका लागि यो खेल निकै महत्त्वपूर्ण छ । यी दुवै टोली जारी सिजनमा पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।

बेंगलुरु हाल १२ खेल खेल्दै १७ अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ । बेंगलुरुले आठ जित र तीन हारको नतिजा निकालेको छ । बेंगलुरुको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । शुक्रबारको खेलमा विजयी भए बेंगलुरु १९ अंकसहित तालिकाको पहिलो स्थानमा उक्लनेछ ।

यसैगरी, हैदराबाद १२ खेलबाट नौ अंक जोड्दै तालिकाको आठौँ स्थानमा आसीन छ । हैदराबादले हालसम्म चार जित र सात हारको नतिजा निकालेको छ । हैदराबादको पनि एक खेल अनिर्णीत रूपमा सकिएको छ ।

उपाधि होडबाट बाहिरिइसकेकाले हैदराबाद शुक्रबारको खेलमा दबाबमुक्त भएर ओर्लनेछ । त्यसैले यो खेलमा बेंगलुरुका लागि हैदराबादको टोली घातक बन्न सक्छ । बेंगलुरुले आफ्नो अन्तिम खेल लखनउ सुपर जायन्ट्ससँग र हैदराबादले आफ्नो अन्तिम खेल कोलकाता नाइट राइडर्ससँग खेल्नेछन् ।