काठमाण्डु– ओमानले होर्मुज जलडमरूमार्ग हुँदै हुने सामुद्रिक आवागमन सुरक्षित गर्ने विषयमा इरानसँग सकारात्मक वार्ता भइरहेको जनाएको छ । तर, इरानले भने कुनै सम्झौता भए पनि त्यसलगत्तै महत्वपूर्ण जलमार्ग पुनः खुला नहुने चेतावनी दिएको छ ।
शनिबार दुवै पक्षले वार्ता सकारात्मक रूपमा अघि बढिरहेको संकेत दिएका छन् । यद्यपि, सम्झौता कहिलेसम्म अन्तिम रूप लिन्छ भन्ने विषयमा स्पष्ट समयसीमा सार्वजनिक गरिएको छैन । ओमानको विदेश मन्त्रालयले वार्तालाई प्रभावित पार्न सक्ने गरी पानीजहाजमाथि हुने कुनै पनि आक्रमण नगर्न चेतावनी दिएको बीबीसीले जनाएको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघ्चीले वार्ता अन्तिम चरणमा पुगेको बताए । तर, होर्मुज जलडमरूमार्ग पुनः खोल्ने विषय भने अन्य सर्तहरू पूरा हुनुपर्नेमा निर्भर रहेको उनको भनाइ छ ।
अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि आक्रमण सुरु गरेपछि तेहरानले होर्मुज जलडमरूमार्गमा प्रभावकारी रूपमा नाकाबन्दी लगाउँदै आएको छ । विश्वमा सामान्य अवस्थामा हुने कुल तेल तथा प्राकृतिक ग्यासको करिब पाँच भागको एक भाग यही जलमार्ग हुँदै ओसारपसार हुने गर्छ ।
पछिल्ला केही दिनदेखि इरान र ओमानबीच होर्मुज जलडमरूमार्ग हुँदै नयाँ सामुद्रिक मार्ग सञ्चालन गर्ने सम्भावनाबारे छलफल भइरहेको छ । उक्त मार्गको सुरक्षाको जिम्मेवारी दुवै देशले लिने प्रस्ताव गरिएको छ । यसबाट जलमार्ग हुँदै हुने पानीजहाज आवागमन पुनः सुरु गर्न प्रगति हुने अपेक्षा गरिएको छ ।
तर, अराघ्चीले होर्मुज जलडमरूमार्ग पूर्ण रूपमा खुला गर्न अन्य सर्तहरू पूरा हुनुपर्ने बताएका छन् । उनले ती सर्तबारे विस्तृत जानकारी भने दिएनन् ।
उनका अनुसार ती सर्तमध्ये अमेरिकाले इरानलाई क्षतिपूर्ति दिनुपर्ने विषय पनि समावेश छ । तेहरानले जुन महिनामा दुवै पक्षबीच भएको युद्धविराम तथा युद्ध अन्त्यका लागि वार्ता अघि बढाउने सहमतिका प्रावधान अमेरिकाले उल्लंघन गरेको आरोप लगाउँदै आएको छ ।
‘सम्झदारीपत्र’ (एमओयू) भनिएको उक्त सहमति भएको केही समयमै विफल भएको थियो । कूटनीतिक वार्ता पनि अघि बढ्न सकेन र सम्झौता भएको केही दिनमै दुवै पक्षबाट एकअर्काविरुद्ध पुनः आक्रमण सुरु भएको थियो ।
यसैबीच, इरानका सुरक्षा प्रमुख मोहम्मद बाकेर जोल्कादरले अर्धसरकारी समाचार संस्था तस्निमसँग कुरा गर्दै अमेरिकाले आफ्नो व्यवहार सुधार नगरेसम्म होर्मुज जलडमरूमार्ग नखुल्ने बताएका छन् ।
उनका अनुसार अमेरिकाले इरानका छ वटा माग पूरा गर्नुपर्नेछ । ती मागमा इरानविरुद्धको धम्की अन्त्य गर्नुपर्ने, इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र विदेशमा रोक्का राखिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्नेलगायतका विषय छन् ।
यसैबीच, इरानसमर्थित यमनका हुथी विद्रोहीले जुलाई २० देखि लाल सागरमा रहेका साउदी अरबका बन्दरगाहमाथि अर्को नाकाबन्दी लगाएका छन् ।




प्रतिक्रिया