इरानमा विशाल तेल भण्डार भेटियो


एजेन्सी – इरानमा तेलको एक विशाल भण्डार भेटिएको छ । इरानका राष्ट्रपति हसन रुहानीले इरानमा एक विशाल तेल भण्डार भेटिएको घोषणा गरेका छन् । चौतर्फी आर्थिक प्रतिबन्ध झेलिरहेको इरानको लागि यो सुखद खबर हो । भनिदैछ कि पछिल्लो एक दशकमा इरानको अर्थव्यवस्था अप्ठेरो अवस्थामा रहेकोमा अब यसले मद्यत गर्नेछ । उक्त तेल भण्डार करिब ५३ अरब ब्यारेलको रहेको बीबीसीले उल्लेख गरेको छ ।

यो तेल दक्षिण पश्चिम इरानको २४०० वर्ग किमी इलाकामा फैलिएको छ । इरानका राष्ट्रपतिका अनुसार यो इलाका इरानको खुजेस्तान प्रान्तमा रहेको छ । ६५ अर्ब ब्यारेलवाला इरानको अहवाज तेल क्षेत्रपछि यो दोस्रो ठूलो तेल क्षेत्र हो । तेल निर्यातक देशको संगठन अर्गनाइजेसन अफ द पेट्रोलियम एक्सपोर्टिङ्ग कन्ट्रीज अर्थात् ओपेकको इरान संस्थापक देश हो ।

इरानसँग अहिले जम्मा प्रमाणित तेल भण्डार १५५.६ अर्ब ब्यारेल रहेको छ । नयाँ खोजपछि इरानको कुल तेल भण्डारमा ३४ प्रतिशत बृद्धि भएको छ । अमेरिकी इन्फर्मेसन इनर्जी एडमिनिस्ट्रेसनका अनुसार इरान विश्वको चौथो सबैभन्दा ठूलो तेल भण्डार भएको देश हो । यसैगरी विश्वको दोस्रो धेरै ग्यास भण्डार भएको देश पनि इरान हो ।

गएको महिना इरानले प्राकृतिक ग्यासको नयाँ खोजले उसको राजश्वमा ४० अर्ब डलर जुट्ने जनाएको थियो । राष्ट्रपति रुहानीले खोजका क्रममा इरानसँग तेलको तेस्रो सबैभन्दा ठूलो भण्डार हुने जनाएका छन् ।

भण्डारका बारेमा घोषणा गर्दै रुहानीले अमेरिकामाथिपनि प्रहार गरेका थिए । उनको भनाइ थियो,‘‘हामी अमेरिकालाई भन्न चाहन्छौं हामी एक धनी देश हौं । तपाईको शत्रुता र कठोर प्रतिबन्धका बावजुद् इरानको तेल उद्योगका कामदार र इन्जिनियरले नयाँ तेल क्षेत्रको खोजी गरेका छन् ।’’

प्रतिक्रिया दिनुहोस
Advertisement