अब पहिले जस्तो लकडाउन हुँदैनः रक्षामन्त्री पोखरेल


काठमाण्डु – उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले पहिले जस्तो लकडाउन नहुने बताएका छन् । शुक्रबार रक्षा मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले पूर्व पश्चिम समेट्ने गरी एकै साथ एउटै तरिकाको लकडाउन नहुने बताएका छन् ।

‘अब फेरि लकडाउन हुँदैन । सम्पूर्ण रूपमा लकडाउन गर्ने सरकारको योजना छैन । पहिला निरपेक्ष ढंगले सबै ठाउँमा लकडाउन गरिएको थियो । कतिपय क्षेत्रमा पछि पुनर्विचार पनि गरेको हो,’ मन्त्री पोखरेलले भने, ‘जहाँ–जहाँ कोरोनाको प्रभाव बढी देखिन्छ, ती ठाउँमा त्यही ढंगले उपाय अपनाउनुपर्छ भने कम भएको ठाउँमा त्यहीअनुसार खुला गरिन्छ । काठमाण्डुमा अन्तरजिल्ला आगमन रोक लगाएका छौं । यातायात सेवा थप व्यवस्थित गर्छौं ।’

उनले कोरोना संक्रमण भएका ठाउँमा सिल गर्ने तयारी भइरहेको जानकारी दिँदै पिसिआर परीक्षण दायरा बढाउने बताए ।

‘अब सम्पूर्ण रूपमा लकडाउन हुँदैन । भौतिक दुरीमा कडाइ साथ ध्यान दिने र नागरिकहरू पनि सचेत हुनपर्ने कुरा बढी महत्वपूर्ण हो’, उनले भने, ‘पिसिआर परीक्षण बढाउने, संक्रमण देखिएका समुदायमा कडाइ गर्ने, क्वारेन्टिनहरू व्यवस्थापन गर्ने र आइसोलेसन बेडहरू बढाउनमा सरकारको ध्यान केन्द्रित हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement