आइजनकोटको पक्षमा थपिए ७ सांसद, बढ्यो नेतन्याहूको सत्ता ढल्ने जोखिम

आइजनकोटको पक्षमा थपिए ७ सांसद, बढ्यो नेतन्याहूको सत्ता ढल्ने जोखिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेलअभिभ – इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्ता संकटमा परेको छ ।

पूर्वसैन्य प्रमुख गादी आइजनकोटले विपक्षी दलहरूलाई एक ठाउँमा ल्याउँदै नयाँ सरकार गठनको पहल तीव्र पारेपछि नेतन्याहू नेतृत्वको सरकार ढल्ने सम्भावना बढेको हो ।

आइजनकोटले दक्षिणपन्थी नेता एविगडोर लिबरम्यानको साथ पाएका छन् । लिबरम्यान नेतृत्वको यिसराइल बेतेनु पार्टीका संसद्मा ७ सांसद छन् । उनीहरूको समर्थनसँगै आइजनकोटको पक्षमा विपक्षी गठबन्धन थप बलियो बनेको छ ।

अब आइजनकोटको नजर नेतन्याहू सरकारलाई समर्थन गर्दै आएको धार्मिक दल युनाइटेड टोरा जुडिज्म (यूटीजे) माथि छ । संसद्मा ७ सिट रहेको उक्त दलका नेताहरू आइजनकोटसँग वार्ता गर्न तयार भएका छन् । यो दल पनि विपक्षी गठबन्धनमा सामेल भए नेतन्याहूलाई बहुमत जोगाउन थप कठिन हुनेछ ।

हाल आइजनकोटको पक्षमा ४८ सांसद छन् । यूटीजेका सातै सांसदले समर्थन गरे यो संख्या ५५ पुग्नेछ । इजरायली संसद् नेसेटमा सरकार गठनका लागि १२० मध्ये कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ । त्यसैले आइजनकोटलाई बहुमत पुर्‍याउन थप ६ सांसदको समर्थन जुटाउनुपर्नेछ ।

लिबरम्यानसँग सहकार्य, धार्मिक दलसँग वार्ता

आइजनकोट र लिबरम्यानबीच मंगलबार राति नयाँ सरकार गठनका लागि सहकार्य गर्ने सहमति भएको हो । नेतन्याहूका लामो समयदेखिका आलोचक लिबरम्यान विपक्षी खेमामा जोडिनु उनको सरकारका लागि ठूलो राजनीतिक धक्का मानिएको छ ।

लिबरम्यानले बुधबार आगामी सातासम्म नयाँ सरकार गठन हुन सक्ने दाबी गरेका छन् । त्यसका लागि आइजनकोटले अहिले नेतन्याहूको सरकारलाई समर्थन गर्दै आएका धार्मिक दलहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन् ।

यूटीजेले सरकारमा सहभागी हुनुअघि धार्मिक विद्यार्थीलाई अनिवार्य सैनिक सेवाबाट छुट दिने विषयमा सहमति खोज्न सक्ने बताइएको छ । यही विषय नयाँ सरकार गठनको वार्तामा निर्णायक बन्न सक्छ ।

इजरायलमा गाजा युद्धका कारण हजारौँ रिजर्भ सैनिक पटक–पटक सैन्य सेवामा खटिनुपरेको छ । आइजनकोट र उनका सहयोगीहरूले धार्मिक समुदायका युवालाई पनि अनिवार्य सैनिक सेवामा सहभागी गराउनुपर्ने पक्ष लिँदै आएका छन् ।

उनीहरूको तर्क छ, सबै समुदायका युवाले सैनिक सेवा गरेमा सीमित परिवार र सैनिकमाथि परेको बोझ कम हुनेछ । धार्मिक दललाई सरकारमा सहभागी गराउने विषयमा लिबरम्यानको पुरानो अडान भने फरक थियो ।

उनी यसअघि त्यस्ता दलसँग गठबन्धन बनाउने पक्षमा थिएनन् । तर अहिले यहूदी सांसदहरूको बहुमतमा आधारित सरकार गठन गर्न उनी तयार देखिएका छन् । अरब दलले बाहिरबाट समर्थन गरे पनि सरकार सञ्चालन गर्न सकिने उनको धारणा छ ।

नेतन्याहू पक्षमा ४६, विपक्षी गठबन्धनमा ४८ सांसद

इजरायली संसद्मा नेतन्याहू नेतृत्वको लिकुड पार्टी र उसका सहयोगी दलसँग अहिले ४६ सांसद छन् । अर्कोतर्फ आइजनकोट, लिबरम्यान, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट, यायर लापिड र यायर गोलान सहितको विपक्षी गठबन्धनसँग ४८ सांसद छन् ।

यसरी विपक्षी गठबन्धन नेतन्याहू पक्षभन्दा २ सिटले अगाडि छ । तर सरकार गठनका लागि उसलाई अझै १३ सांसदको समर्थन आवश्यक छ ।

यूटीजेका ७ सांसदले समर्थन गरेपछि आइजनकोटको पक्षमा ५५ सांसद पुग्नेछन् । त्यसपछि उनको ध्यान मन्सुर अब्बास नेतृत्वको अरब दल राअममाथि केन्द्रित हुनेछ ।

राअमले सरकारमा सहभागी भएर वा बाहिरबाट समर्थन दिएर आइजनकोटलाई बहुमत जुटाउन सहयोग गर्न सक्छ । अब्बास यसअघि सन् २०२१ देखि २०२२ सम्म नफ्ताली बेनेट र यायर लापिड नेतृत्वको सरकारमा सहभागी भएका थिए । उनी आगामी सरकारमा पनि आफ्नो दलको भूमिका खोजिरहेका छन् ।

आइजनकोटसँग ३ विकल्प

आइजनकोटले नयाँ सरकार गठनका लागि ३ वटा विकल्प खुला राखेका छन् । पहिलो, नेतन्याहूको लिकुड पार्टीसँग एकता सरकार गठन गर्ने । तर यसमा प्रधानमन्त्री पद कसले लिने भन्ने विषय प्रमुख विवाद बन्न सक्छ ।

दोस्रो, अति रूढिवादी धार्मिक दलहरूको समर्थन जुटाउने । यसका लागि धार्मिक विद्यार्थीलाई अनिवार्य सैनिक सेवाबाट छुट दिने विषयमा सम्झौता गर्नुपर्ने हुन सक्छ । चुनावी राजनीतिमा आइजनकोट पक्षले सैनिक सेवामा सबै समुदायको समान सहभागिताको मुद्दा उठाउँदै आएको छ ।

तेस्रो, अरब दलहरूको समर्थनमा अल्पमत सरकार गठन गर्ने । तर लिबरम्यानसहित विपक्षी गठबन्धनका केही नेताहरू अरब दलसँगको सहकार्यप्रति असहज छन् ।

यी ३ वटै विकल्प खुला राखेर आइजनकोटले विभिन्न दलसँग वार्ता गरिरहेका छन् । कुनै एउटा दलमा मात्र निर्भर नहुँदा उनले गठबन्धनका सम्भावित साझेदारसँग आफ्नो पक्षमा सहमति जुटाउन दबाब सिर्जना गर्न सक्ने देखिन्छ ।

६ डिसेम्बरसम्म समयसीमा

इजरायलका राष्ट्रपति इसाक हर्जोगले ८ नोभेम्बरमा आइजनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका थिए । उनलाई ६ डिसेम्बरसम्म संसद्मा बहुमत जुटाउनुपर्ने समयसीमा छ । आवश्यक परे राष्ट्रपतिले थप १४ दिन समय दिन सक्ने व्यवस्था छ ।

यो समयसीमा आइजनकोटका लागि व्यक्तिगत रूपमा पनि संवेदनशील छ । ७ डिसेम्बरमा गाजामा भएको युद्धका क्रममा मारिएका उनका छोरा गालको तेस्रो स्मृति दिवस पर्छ । २५ वर्षका गालको गाजामा युद्धका क्रममा मृत्यु भएको थियो ।

आइजनकोटले निर्धारित समयभित्र सरकार गठन गर्न नसके राष्ट्रपति हर्जोगले पुन: नेतन्याहूलाई सरकार बनाउने अवसर दिन सक्छन् । उनले पनि बहुमत जुटाउन नसके इजरायलमा फेरि निर्वाचन हुन सक्नेछ ।

अहिले नेतन्याहूका लागि मुख्य चुनौती विपक्षी गठबन्धनको विस्तार मात्र होइन, आफ्नै सरकारलाई समर्थन गर्दै आएका दलहरूमा देखिएको असन्तुष्टि र सम्भावित राजनीतिक ध्रुवीकरण पनि हो ।