काठमाण्डु – संघमा सत्ता गठबन्धन बदलिएपछि त्यसैअनुरुप सत्तामा रहेका दलले समर्थन फिर्ता लिँदा बागमती र सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेका छन् ।
नेकपा (माओवादी केन्द्र)बाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका शालिकराज जमकट्टेल र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय लिएका हुन् । दुबै मुख्यमन्त्रीले विश्वासको मत कहिले लिने भने मिति भने तय गरिसकेका छैनन् ।
१७ असारमा संघमा नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनसहित सत्तासहकार्य गर्ने ७ बुँदे सहमति भएको थियो । सहमतिसँगै एमालेबाट संघ र प्रदेशमा रहेका मन्त्रीहरू राजीनामा दिएर सरकारबाट बाहिरिएका छन् भने सरकारलाई दिएको समर्थन पनि पार्टीले फिर्ता लिएको छ ।
बागमती र सुदूरपश्चिममा एमाले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीहरू अल्पमतमा परेका छन् । अल्पमतमा परे पनि उनीहरूले संसद्मा विश्वासको मतको परीक्षण गर्ने तयारी गरेका छन् ।
बागमतीमा सोमबार एमाले समर्थन फिर्ता लिँदै आफ्ना ५ मन्त्रीलाई राजीनामा गराएर सरकारबाट बाहिरिएको थियो । संघको सहमति अनुसार कांग्रेस–एमाले मात्रै मिल्दा प्रदेश सभामा बहुमत पुग्छ । १ सय १० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । बहुमतका लागि ५६ मत चाहिनेमा कांग्रेस र एमालेका मत जोड्दा ६४ मत हुन्छ ।
मुख्यमन्त्री जमकट्टेलले यी दुई दलबाहेकका प्रदेशसभामा प्रतिनिधित्व भएका सबै दललाई एकीकृत गर्दा पनि बहुमत पुग्दैन । बागमती प्रदेशसभामा माओवादी २१, राप्रपा १३, एस ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । यी सबैको मत जोड्दा ४७ मात्रै पुग्छ । त्यसमा पनि राप्रपाले केन्द्रमा बनेको कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने बताइसकेको छ ।
बहुमत नआउने निश्चित भए पनि मुख्यमन्त्री जम्कट्टेलले संघको माओवादी संसदीय दलको बैठकको सुझाव अनुरुप सदनमा विश्वासको मत लिएर अगाडि बढ्ने तयारी गरेका हुन् ।
यसअघि जम्कट्टेलले ०७९ माघ ३ मा पहिलो पटक विश्वासको मत लिएका थिए भने एमालेले सरकार छाडेपछि सोही वर्ष चैत १० मा दोस्रो पटक र कांग्रेसले सरकार छाडेपछि ०८० चैत १९ मा तेस्रो पटक विश्वासको मत लिएका थिए ।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी नेतृत्वको सरकार पनि अल्पमतमा परेको छ । गत बिहीबार एमालेले समर्थन फिर्ता लिएर सरकारमा सहभागी भएको तीन सातामै आफ्ना तीन मन्त्रीलाई राजीनामा गराएपछि विश्वासको मत नपाउने निश्चित भए पनि सोडारीले विश्वासको मतको परीक्षण गर्ने बताएका छन् । सोडारीसँग कांग्रेस–एमालेले भने संयुक्त रूपमा राजीनामा मागेका छन् ।
एमाले, माओवादी, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूह) र एक स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री बनेका सोडारी एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका हुन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ प्रदेशसभा सदस्य जोड्दा २९ हुने भएकाले सोडारीले अनय दललाई मिलाएर विश्वासको मत जुटाउने सम्भावना देखिन्न । अब सोडारीसँग माओवादीका १०, एसका ४, नागरिक उन्मुक्तिका २ र एक स्वतन्त्र सांसद गरी १७ मत मात्रै छ ।
कांग्रेस–एमाले सहमति अनुरुप बागमती र सुदूरपश्चिममा सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति छ ।
प्रतिक्रिया