सरकारका हरेक गतिविधि जनभावना विपरित : सभापति देउवा


काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यही व्यवस्थामा जनताले चाहेको आर्थिक–सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको अभियानलाई साकार पार्न सरकारलाई सचेत गराउनुपर्ने बताएका छन् ।

उनले सरकारका हरेक गतिविधि जनभावना विपरित, संविधान विपरित भएकाले जनतामा निराशा बढेर संघीय लोकतान्त्रिक व्यवस्थाप्रति नै लिन सक्ने अवस्था आउने खतरा बढदै गएको उल्लेख गर्दै चिन्ता पनि व्यक्त गरे।

बिहीबारबाट रनजधानीमा सुरु भएको दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक दुई दिने राष्ट्रिय सम्मेलनमा बोल्दै सभापति देउवाले दलित समुदायको मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने र समान समस्या भएका विश्वका अन्य मुलुकका संसदसँग हातेमालो गरी विभेदविरुद्ध साझा लडाई लडनुपर्नेमा पनि जोड दिए।

उनले जनभावना विपरित हुने गरी सरकारले ल्याएको राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक, मिडिया काउन्सिल विधेयक, गुठी विधेयक, राष्ट्रिय सुरक्षा विधेयक समावेशीकरण विरुद्ध पनि भएकाले आफ्नो पार्टीले मान्य नहुने अडान लिएको स्मरण गराए।

सभापति देउवाले दलित विकास समिति खारेज गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए। उनले दलित, आदिवासी–जनजाति समूदायको हितका लागि आफूले २०५२ सालमै प्रधानमन्त्री हुँदा धेरै काम गरेको दावी गर्दै वर्तमान सरकार दलित समुदायको अधिकार सुनिश्चित गर्न गम्भीर नभएको आरोप पनि लगाए।

प्रतिक्रिया दिनुहोस
Advertisement