रामको अयोध्या र सीताको जनकपुर रेलमार्गले जोडिँदै, शाह र मोदीले आज उद्घाटन गर्ने

रामको अयोध्या र सीताको जनकपुर रेलमार्गले जोडिँदै, शाह र मोदीले आज उद्घाटन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राम–सीताको पवित्र सम्बन्धसँग गाँसिएको नेपाल–भारतको धार्मिक र सांस्कृतिक सेतु रेलमार्गले जोडिदैछ ।

भारतको अयोध्याबाट जनकपुरधाम आउन लागेको अन्तर्देशीय रेलको मंगलबार जनकपुरमा स्वागतको तयारी गरिको छ ।

सोमबार दिउँसो प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट भिडियो कन्फ्रेन्समार्फत संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्दै छन् । त्यसपछि अयोध्यामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले रेललाई हरियो झन्डा देखाएर जनकपुरधामका लागि बिदाइ गर्ने छन् ।

उक्त रेल मंगलबार बिहान जनकपुरधाम पुग्ने छ । रेलमा भारतीय रेलवेका अधिकारीसहित विभिन्न क्षेत्रका करिब एक हजार एक सय अतिथि सहभागी हुनेछन् ।

जनकपुरधाम र अयोध्यालाई रेलमार्गले जोड्ने योजनाले राम–सीताको पवित्र सम्बन्धसँग गाँसिएको नेपाल–भारतको धार्मिक र सांस्कृतिक सेतुलाई भौतिक रूपमै थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

अयोध्या रेल्वे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी ‘नयाँ वन्दे भारत एक्सप्रेस’ रेललाई दिउँसो हरियो झन्डा देखाएर सेवा शुभारम्भ गर्ने कार्यक्रम छ।

पहिलो पटक नेपाल आउने उक्त रेलमा भारतीय पक्षबाट आमन्त्रण गरिएका प्रतिनिधि मात्रै सहभागी हुनेछन् । जनकपुरधाम रेललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वागत गर्ने छन् ।

करिब ६०४ किलोमिटर दूरी तय गर्ने उक्त रेल सेवाले विहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्यासँग जोड्नेछ। नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सुरुवाती चरणमा उक्त रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ।

निर्धारित समयतालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १ : १० बजे जनकपुरधामबाट प्रस्थान गरी आइतबार बिहान ८ : १० बजे अयोध्याको क्यान्ट पुग्नेछ।

त्यसैगरी, रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५ : ५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मङ्गलबार दिउँसो १२ : ४० बजे जनकपुरधाम आइपुग्ने प्रबन्धक पराजुलीले बताए।

रेलको जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहनेछन्। ती स्थानबाट यात्रु चढ्न तथा ओर्लन सक्ने व्यवस्था गरिएको छ।