देउवा र मोदीले संयुक्तरुपमा गरे जनकपुर-जयनगर रेल सेवाको उद्घाटन


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर–जयनगर रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीले नयाँ दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल सेवाको उद्घाटन गरेका हुन् ।

१ फागुनदेखि बिना यात्रु (ड्राई रन) हुँदै आएको कुर्था– जनकपुर–जयनगर रेल सेवा नियमित रुपमा सञ्चालनका लागि आज उद्घाटन भएकाे हाे ।  जयनगरबाट आउने रेलमा भौतिक पुर्वाधार तथा यातायातमन्त्री रेणु यादव जनकपुरधाम हल्टमा रेलमा चढ्ने छिन् । मन्त्री यादव चढेर कुर्थासम्मको यात्रा गरेपछि पुनः रेल जनकपुर आउने छ । जनकपुरधाम कार्यालय परिसरमा आयोजना हुने कार्यक्रममा मन्त्री यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।

सर्वसाधारणलाई रेलमा चढ्न आईतवारदेखि मात्रै खुल्ला हुने बताइएकाे छ । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम भएकाे छ । अनलाइन प्रविधिबाट रेलको टिकट उपलब्ध गराउने व्यवस्था गरिएको छ । टिकटमा क्यूआर कोड हुनेछ । रेलमा यात्रा गर्ने यात्रुको टिकट अनलाइनबाटै जाँच गर्ने उपकरण टीटीलाई उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement