जनार्दन शर्मालाई फेरी अर्थमा फर्काउने तयारी


काठमाण्डु – निर्वतमान अर्थमन्त्री जनार्दन शर्मा फेरी अर्थमा फर्किने भएका छन् । बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई पठाएर करको दर हेरफेर गरेको आरोप लागेपछी राजीनामा दिएका शर्मा फेरी अर्थमन्त्रालय फर्कने उनि निकट स्रोतले बतायो ।

शर्माविरुद्ध बनेको संसदीय विशेष समितिले अहिलेसम्म गरेको छानविनमा उनि दोषी नदेखिएको बताइन्छ । संसदीय समितिको म्याद बिहिवार ७ दिन थप भइसकेको छ ।

वयानका क्रममा शर्मा र अर्थका उच्च पदस्थ कर्मचारीहरुले अनाधिकृत व्यक्ति प्रवेश नभएको दावी गरेका छन् । अवको ७ दिनमा समेत त्यो प्रमाणित हुने सम्भावना कम भएको समितिकै सदस्यहरु बताउंछन् ।

सीसीटीभी फुटेज र बयान दुवैको आधारमा अहिले शर्माको संलग्नता नदेखिएको छानविन समितिका सदस्यहरु नै बताउंछन् ।

माओवादी केन्द्रका नेता समेत रहेका शर्माले उनिमाथि लागेको आरोपलाई अस्विकार गरेका थिए । उनले आफ्नो गल्ती प्रमाणित गर्न चुनौति दिएका थिए । शर्मा राजीनामा दिने पक्षमा नभएपनि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा उनले २२ असारमा पदबाट राजीनामा दिएका थिए ।

दाहाल र देउवाले नै फेरी अर्थमा ल्याउने वचन दिएको आधारमा उनले राजीनामा दिएको र छानविन समितिबाट क्लिन चिट पाएलगत्तै फेरी अर्थमै फर्काउने तयारी छ ।

अहिले अर्थमन्त्रालय प्रधानमन्त्री देउवासंगै रहेको छ । माओवादी केन्द्रबाट समेत अर्थमन्त्रीमा धेरै नेताहरुको चर्चा भएपनि अन्ततः अहिलेसम्म नयां मन्त्री पठाइएको छैन् । ‘अर्थमा शर्मालाई नै पठाउने पक्षमा प्रधानमन्त्री र पार्टी अध्यक्ष हुनुहुन्छ । त्यही भएर अहिलेसम्म नयां मन्त्री नपठाएको हो ।’ माओवादी अध्यक्ष दाहाल निकट स्रोतले भन्यो ।

अर्थमन्त्री विरुद्धको छानबिन समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य छन् ।

माओवादीको तर्फबाट सदस्य रहेका नेता शक्ति वस्नेतले शर्माको बचाउ गरेका थिए । त्यतिमात्र छानविन समितिका अन्य सदस्यहरुलाई समेत शिर्ष नेताहरुबाट लाइन आइसकेको बताइन्छ ।

‘सत्तारुढ पार्टीहरुबाट बहुमत सांसद सदस्य भएकाले पनि उनले उन्मुक्ति पाउने सम्भावना बढी छ । त्यहीमाथि उनिविरुद्ध वयान र अरु प्रमाण समेत भेटिएन । ’ शर्मा अर्थमा फर्कने चर्चासंगै फेरी अर्थका कर्मचारी र कार्यकर्ताहरुको भिड उनको घरमा हुने गरेको छ ।

शर्माले अर्थसचिव मधु मरासिनीलाई अर्थमा भने नराख्ने सम्भावना बढेको स्रोतको दावी छ । अहिले अर्थमा नयां सचिवको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement