जनार्दन शर्मामाथि लागेको आरोप प्रमाणित भएन, अर्थमन्त्रीमा पुनः नियुक्त गर्ने तयारी


काठमाण्डु- माओवादी नेता जनार्दन शर्माले सफाइ पाएका छन् । बजेट घोषणाको अघिल्लो दिन अर्थ मन्त्रालयको कर दर निर्धारणमा अनिधिकृत व्यक्तिको प्रवेश देखिएको भन्ने आरोपमा शर्माले सफाइ पाएका हुन् ।

यस प्रकरणमा मुछिएपछि शर्माले नैतिकताको आधारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । घटनाको छानविन गर्न संसदीय विशेष समिति बनेको थियो । उक्त समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा हालसम्म गरेको छानबिन र संकलन गरिएको प्रमाणका आधारमा कर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश नगरेको ठहर गरेको छ ।

समितिले १७ दिन लगाएर छानबिन गरेको थियो । समितिमा एमालेको तर्फबाट सदस्य रहेका समितिका सदस्यहरुले भने फरक मत राखेका छन् ।

शर्मा यस प्रकरणमा निर्दोष देखिएपछी उनलाई अर्थमन्त्रालयमा ल्याउने तयारी छ । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवासंगको सल्लाहपछी पदबाट राजीनामा दिएका थिए ।

दुवैसंग छानबिन समितिको प्रतिवेदनपछी फेरी अर्थमा ल्याउने सहमतिअनुसार नै शर्माले त्यतिबेला राजीनामा दिएको स्रोत बताउंछ ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले समितिले शर्मालाई नै निर्दोष ठहर गरेपछि अर्थमन्त्रीमा पहिलो हक शर्माकै हुने बताए । उनले प्रतिनिधिसभा भवन बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै माओवादीले अर्थमन्त्रीमा शर्माको बिकल्प नखोजेको दावी गरे।

पुनले अर्थमन्त्रीमा शर्मालाई फर्काउनपर्ने आफ्नो धारणा रहेको भएपनि मन्त्री बन्ने नबने भन्ने कुरा शर्मामा निर्भर हुने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement