प्रधानमन्त्रीसँग जनताले प्रत्यक्ष सम्बाद गर्न पाउने


काठमाडाैं– जनतासँग प्रधानमन्त्री कार्यक्रम बुधबार देखि हरेक हप्ता प्रत्यक्ष प्रसारण हुने भएको छ । यसअघि उक्त कार्यक्रम पाक्षिक रुपमा प्रसारण हुँदै आएको थियो ।

कथा नेपालले निर्माण गरिरहेको कार्यक्रम साउन २ र साउन १६ गते रेकर्ड गररेर प्रसारण गरिएको थियो । भोलिदेखि कार्यक्रम नेपाल टेलिभिजन, एपीवान एचडी, हिमालय टेलिभिजन, एबीसी टेलिभिजन र जनता टेलिभिजनमा राती ९ बजेदेखि १० बजेसम्म प्रत्यक्ष प्रसारण हुने कार्यक्रमका संचालक तथा निर्माता मनोज पाण्डेले बताए । साथै ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको फेसबुक पेज र हाम्रो कथाको युट्युब च्यानलबाट पनि प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

यसपटकदेखि कार्यक्रममा दर्शकले टेलिफोन तथा सामाजिक सञ्जालहरु फेसबुक र ट्विटरमार्फत प्रधानमन्त्रीसमक्ष सिधै प्रश्न राख्न पाउने व्यबस्था मिलाईएको छ । टेलिफोन मार्फत प्रश्न राख्न कार्यक्रम सुरु भएपछि नेपाल टेलिभिजनको फोन नम्बर ०१–४२००५१२ र ०१–४२००५१३ मा फोन गर्नुपर्नेछ भने ‘जनतासँग प्रधानमन्त्री’को फेसबुक पेज तथा ट्विटरबाट पनि प्रश्न तथा आफ्नो गुनासो राख्न पाईने व्यबस्था मिलाईएको कथा नेपालले जनाएको छ ।

कथा नेपालले नेपालमा सोलुसन बेस्ड जर्नालिज्म या कन्सट्रक्टिभ जर्नालिज्मको अभ्यास गर्ने पहिलो कम्पनी हो । आशा, उत्साह र उत्सवलाई कम्पनीले मुल मन्त्र बनाएको छ । कथा नेपालले ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको सैद्धान्तिक जग पनि यसैलाई वनाएको छ ।

यो कार्यक्रम निर्माणका लागि अनुसन्धानकर्ता, प्रोफेसर, पत्रकार, स्टोरी एडिटर, प्राविधिक, पब्लिसिटी र व्यवस्थापकीय गरी १५ जनाको टोली निर्माण गरिएको छ । यसबाहेक विषयगत रूपमा आवश्यकता अनुसार राष्ट्रिय योजना आयोग, तथ्यांक विभाग, विषयगत मन्त्रालय तथा विश्वविद्यालयहरूलाई समेत अध्ययन–अनुसन्धानका लागि अनुरोध गर्ने योजना कथा नेपालको छ ।

कथा नेपालले लामो समयदेखि सकारात्मक समाचार, सफलताका कथा, उद्यम र उद्यमशीलताका सम्भावना, चुनौति र समाधानको पाटामा केन्द्रित रहेर कान्तिपुर टेलिभिजनमा ‘मनी टक्स’ र अनलाईन ‘हाम्रो कथा डट कम’ सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement