सफल वन्दै जनताको जलविद्युत कार्यक्रमः विहिवार प्रधानमन्त्रीले शेयर आदेवन दिने


काठमाडौं– त्रिशुली जलविद्युत कम्पनीले ‘जनताको जलविद्युत आयोजना’ अन्तर्गतको पहिलो आईपिओे निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । त्यसका लागी चैत्र ७ गतेदेखि शेयर निष्काशन गर्ने तयारी भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो शेयर भर्ने घोषणा गरेबमोजिम नै विहिवार विहान शेयर आदेवन दिने भएका छन् । उनले त्यसका लागी ग्लोबल आईएमई क्यापिटलमा र नेपाल डिपी लिमिटेडमा २ वटा डिम्याट खाता समेत खोलिसकेका छन् । यसअघि प्रधानमन्त्रीको डिम्याट एकाउण्ट नभएको उनको सचिवालयले जनाएको छ ।

त्यस्तै सोही कार्यक्रममा जलविद्युत् कार्यक्रम अन्तर्गतको दोश्रो शेयर उनकी पत्नी राधीका शाक्यले खरिद गर्नेछिन् भने तेश्रो शेयर उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले खरिद गर्ने बुझिएको छ ।

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सवै नेपाली जनतालाई जलविद्युतको शेयरधनी बनाउने भन्दै मन्त्रालयको कार्यभार सम्हालेसंगै स्वेतपत्र जारी गरेका थिए । उक्त स्वेतपत्रमा ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपालीलाई विद्युतको सेयरधनी’ बनाउने नारा समेत राखिएको थियो ।


प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनले गत फागुन २ गते ‘जनताको जलविद्युत् कार्यक्रम’ को शुभारम्भ गरेका थिए ।

उक्त कार्यक्रम अन्तर्गत विभिन्न १९ आयोजना छनौट गरिएको छ । जसमा एक खर्ब रुपैंया बराबरको शेयर जनतालाई दिने सरकारी तयारी छ ।  नेपाल धितोपत्र बोर्डले जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतका आयोजना निर्माण गर्ने कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गर्दा ‘क्रेडिट रेटिङ’ गर्नु नपर्ने निर्णय गरेको छ ।

बोर्डले बिहीबार गरेको निर्णयअनुसार यस्ता आयोजनाका हकमा सेयर निष्कासन गर्दा सोझै जनतामा जान सकिनेछ । निजी क्षेत्रले निर्माण गरेका आयोजनाका लागि सेयर माग गर्दा बोर्डले अनिवार्य रेटिङ गराउनुपर्ने व्यवस्था गरेको छ ।

बोर्डले जारी गरेको सूचनामा भनिएको छ– जनताको जलविद्युत कार्यक्रमअन्तर्गतका संगठित संस्थाले धितोपत्रको प्रारम्भिक निष्कासन गर्दा क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३ को उपनियम (७) बमोजिम क्रेडिट रेटिङ गर्न नपर्ने गरी छुट दिने निर्णय गरिएको छ ।

कम्पनीले जारी गरेको पूंजी दुई अर्ब ४७ करोड को १५ प्रतिशत अर्थात ३७ करोड पँंच लाख बराबरको १०० अङ्कित दरको ३७ लाख पांच हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

जस मध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बांकी ३५ लाख ९३ हजार कित्ता सेयरमा सर्वसाधारणकाले आवेदन दिन सक्ने छन् । यहि सर्वसाधारणलाई छुट्याइएको शेयरमा प्रधानमन्त्रीले पनि आवेदन दिन लागेका हुन् । आवेदन दिंदा न्युनतम एक सय कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने ब्यबस्था छ ।

३७ मेगावाट क्षमता रहेका माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत आयोजनाले विसं २०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको थियो । उक्त आयोजनाले विसं २०७४ भदौ ६ मा विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) र २०७५ भदौ ४ मा ऋण सम्झौता (सिएफए) गरेको थियो ।

आयोजनाले हालसम्म साइट आवास, कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट टनेल, पहुंच मार्गसम्मको अधिन, वन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ ।

आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत रहेको कम्पनीले जनाएको छ । आयोजना निर्माणको जिम्मेवारी चिनियां कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीमार्फत भइरहेको छ ।

उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पु¥याउन उत्पादनगृहदेखि थ्री ‘बी’ हबसम्म जडानका लागि लैजान आवश्यक पर्ने तीन किमी दूरीको १३२ केभी प्रसारण लाइन निर्माण कार्य समेत तिव्रताका साथ अघि बढिरहेको छ ।

यस्तो थियो उर्जामन्त्री वर्षमान पुनले स्वेतपत्रमा जारी गरेको ५८ नम्बर बुंदा- 

 हिमाल, पहाड, तराई–मधेसका हरेक नेपाली जनतालाई जलविद्युतमा लगानीको अवसर प्रदान गर्दै आर्थिक समृद्धि मार्फत राष्ट्रिय एकता सुदृढ् गर्न । नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयर धनी’ कार्यक्रम अभियानको रुपमा सञ्चालन गरिनेछ । अपर अरुण ( ७२५ मेगावाट), अरुण–४ (४०० मेगावाट), तल्लो अरुण (४०० मेगावाट), किमाथाब्का अरुण ( ५०० मेगावाट), भेरी बबई डाईभर्सन (४८ मेगावाट), फुकोट कर्णाली (५०० मेगावाट) र तामाकोशी–५ (१०१ मेगावाट) जस्ता आकर्षक र नाफामुलक जलविद्युत आयोजनाहरु यसै अभियान अन्तर्गत सञ्चालन गरिनेछ । वैदेशिक रोजगारीमा गएकाहरुलाई सम्बन्धित देशबाटै शेयर आवेदन दिने व्यवस्था गरिनेछ । तत्कालै लगानी गर्न नसक्ने लक्षित तथा विपन्न वर्गलाई हुने गरी विशेष व्यवस्था अपनाइने छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement