न्यूनदृष्टियुक्तलाई छात्रावास बनाउन जापानको १ करोड १४ लाख अनुदान


काठमाण्डु – कागेश्वरी मनहरा नगरपालिकामा न्यूनदृष्टियुक्त छात्राका लागि छात्रावास भवन निर्माण गर्न जापान सरकारले रु एक करोड १४ लाख अनुदान उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा यहाँस्थित जापानी राजदूतावास र नेपाल नेत्रहीन सङ्घबीच आज हस्ताक्षर भएको हो । दूतावासका कार्यवाहक राजदूत योसियोका युजु र सङ्घका अध्यक्ष रमेश पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेको जापानी दूतावासले जनाएको छ ।

देशका विभिन्न भागबाट उच्च शिक्षाका लागि राजधानी आएका न्यूनदृष्टियुक्त छात्रालाई सङ्घले छात्रावासको व्यवस्था गर्दै आएको छ । विद्यार्थीको बढ्दो सङ्ख्यासँगै मौजुदा छात्रावास भवन आवासका लागि पर्याप्त नभएकाले नयाँ भवन बनाउन जापानले अनुदान प्रदान गरेको हो ।

यसैबीच जापानी राजदूतावासले कीर्तिपुरस्थित आँखा अस्पतालमा मधुमेहका बिरामीको नेत्र परीक्षणका निम्ति आवश्यक पर्ने उपकरण जडान गर्न रु एक करोड ८३ लाख अनुदानस्वरुप प्रदान गर्ने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा कार्यवाहक राजदूत युजु र नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष डा चेतराज पन्तले आजै हस्ताक्षर गरेको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement