मन्त्री बस्नेतसँग जापानी राजदूतको भेट, वन तथा वातावरण संरक्षणका क्षेत्रमा थप सहकार्य गर्न जापान सरकार तयार


काठमाडौँ– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा बुधबार भएको भेटमा उनले जापान सरकारले वन तथा वातावरण संरक्षणसहित नेपालको विभिन्न क्षेत्रमा लामो समयदेखि असल साझेदारका रुपमा सहयोग गर्दै आएकोमा उच्च प्रशंसा गरे ।

आगामी दिनमा थप सहयोगको अपेक्षा गर्दै मन्त्री बस्नतेले जनस्तरमा समेत जापान नेपालको असल मित्र भएको उल्लेख गरे । मन्त्री बस्नेतले नेपाल लामो राजनीतिक अस्थिरताको दुस्चक्रबाट भर्खरमात्र मुक्त भएको बताउँदै सरकारको अबको ध्यान शान्ति, स्थिरता र विकास भएको स्पष्ट गरे ।

आफ्नो मन्त्रालयले युवाको सक्रिय सहभागितामा वन÷वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने उल्लेख गर्दै उनले वनलाई उद्यमशीलतासँग जोड्ने र राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गर्ने नीतिका साथ सरकार अघि बढेको बताए ।

सो अवसरमा राजदूत ओगावाले मन्त्री बस्नेतलाई जापान सरकारका तर्फबाट कार्यकाल सफलताको शुभकामना दिँदै वन तथा वातावरण संरक्षणका क्षेत्रमा थप सहकार्य गर्न जापान सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

राजनीतिक अस्थिरता अन्त्यसँगै नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा प्रवेश गरेको उल्लेख गर्दै उनले वर्तमान सरकारले अघि सारेको विकास र समृद्धिको योजनामा जापान सक्दो सहयोग गर्न तयार रहेको बताए ।

राजदूत ओगावाले चुरे संरक्षण र तराई– मधेसमा वर्षायाममा हेरक वर्ष आउने बाढी÷पहिरोका कारण हुने गरेको धनजनको क्षति रोक्ने कार्यमा सहयोग गर्न जापान सरकार तयार रहेको पनि बताए ।

भेटमा राजदूत ओगावाले मन्त्री बस्नेतलाई जापान भ्रमणको निमन्त्रणासमेत दिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement