काठमाण्डु – सरकारसँगको ‘सत्ता बार्गेनिङ’ सफल भएमा जनता समाजवादी पार्टी (जसपा) नेपाल अध्यादेशको समर्थनमा उभिने भएको छ ।
जसपा नेपालनिकट उच्च स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शर्त राखेर बार्गेनिङ गरिरहेका छन् भने पार्टीको अध्यादेश अध्ययन गर्न गठित कार्यदलले अध्ययन सकेर अध्यादेशमा आंशिक समर्थन जनाउन सकिने निष्कर्ष निकालेको छ ।
अध्ययन कार्यदलका संयोजक राजकिशोर यादवले भूमि अध्यादेशबाहेक अन्यमा समर्थन जनाउन सकिने सुझाव दिएको स्रोतले जनाएको छ । तर कार्यदलको निर्णय सार्वजनिक गरिएको छैन, किनकि अध्यक्ष यादव सरकारसँग बार्गेनिङमै रहेकाले भोलि बिहीबार संसदीय दलको बैठकपछि मात्रै निर्णय सार्वजनिक गरिनेछ ।
बुधबार कार्यदलको अन्तिम निर्णय आउनैलाग्दा अध्यक्ष यादवले संयोजकलाई फोन गरेर अहिले नै कार्यदलको निर्णय सार्वजनिक नगर्न निर्देशन दिएका थिए ।
अध्यक्ष यादवले अध्यादेशमा समर्थन जनाउन र सरकारमा सहभागी हुन ३ शर्त राखेका छन्, जसमा संघीय सरकारमा उपप्रधानसहित गृह मन्त्रालय दिनुपर्ने, मधेश प्रदेशमा मुख्यमन्त्री दिनुपर्ने र जसपाबाट विभाजित अशोक राई पक्षका मन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग गरिएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया