झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु, ८ जना घाइते

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु, ८ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतका विभिन्न राज्यमा निरन्तरको भारी वर्षाले जनजीवन प्रभावित बनाएको छ । झारखण्डमा मंगलबार परेको चट्याङका कारण १४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

सबैभन्दा बढी गिरिडीह जिल्लामा ९ जनाको मृत्यु भएको छ। त्यसपछि दुमकामा ३ र लातेहारमा २ जनाले ज्यान गुमाएका छन्।

उत्तर प्रदेशको मिर्जापुरमा पनि ३ जनाको मृत्यु भएको छ। पानीले भरिएको खाल्डोमा डुबेर २ बालबालिकाको ज्यान गएको छ भने २५ वर्षीय एक युवकको चट्याङ लागेर मृत्यु भएको हो।

यता, केरलमा अगस्ट १ देखि लगातार भइरहेको वर्षाका कारण हालसम्म २५ जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता रहेका छन्। निरन्तर वर्षा र बाढीका कारण हजारौँ मानिस आफ्नो घर छाड्न बाध्य भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

केरल सरकारका अनुसार हाल १८ हजारभन्दा बढी मानिस राहत शिविरमा बसिरहेका छन्। पथानमथिट्टा, कोट्टायम र अलप्पुझा जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन्।

त्यसैगरी, हिमाचल प्रदेश र उत्तराखण्डमा भारी वर्षा र पहिरोका कारण ३०० भन्दा बढी सडक अवरुद्ध भएका छन्। तीमध्ये हिमाचल प्रदेशमा १६० र उत्तराखण्डमा १०० भन्दा बढी सडक बन्द छन्। उत्तराखण्डका देहरादून र बागेश्वर जिल्लामा कक्षा १२ सम्मका विद्यालय आजका लागि बन्द गरिएको छ।