म मेची बगरको मान्छेले झुलाघाटको पुल देखेँ,देउवाले देखेनन् : ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मेची बगरमा जन्मेको मान्छे भएपनि झुलाघाटको पुलको दयनीय अवस्था देखेको, तर पाँचचोटि प्रधानमन्त्री भएर पनि देउवाले त्यो नदेखेको टिप्पणी गरेका छन् ।

शुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो सरकार बनेपछि झुलाघाटमा पक्की पुल बन्ने बताए । त्यसको जिम्मा एमाले र आफूले लिने बताए । उनले आफूले दार्चुलाको खलंगामा आयोजित आमसभामा प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूलाई जिल्ला होइन, काठमाडौंमै बस्न सल्लाह दिएको बताए ।

ओलीले बैतडीमा पहिले पनि आफू आएको भन्दै विभिन्न विकासका आश्वासन बाँडे । उनले आफ्नो तीन वर्षे सरकारको पालामा देशमा ठूल्ठूलो विकास गरेको दाबी गरे । उनले विकास गर्न पनि एमाले नै चाहिने बताए । ‘यो देशमा विकास हुन एमाले नै चाहिन्छ । हुलाकी मार्ग हाम्रै सरकारको पालामा बन्यो । देशमा पहिले राति विमान उड्दैनथ्यो, त्यो एमाले सरकारकै पालामा सम्भव भयो । बुढाबुढी, केटाकेटी सबैलाई एमाले नै चाहिन्छ,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement