भारतमा हुन लागेको संयुक्त सैन्य अभ्यासको सत्तारुढ दलकै नेता र विज्ञद्धारा विरोध


काठमाडौं– भारतमा पहिलो पटक हुन लागेको बिम्स्टेक राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यासको देशभित्र चर्को आलोचना सुरु भएको छ । सैन्य अभ्यास चीन र पाकिस्तानलाई लक्षित गरी हुन लागेको भन्दै त्यसले दिर्घकालिन असर पर्न सक्ने पुर्व रक्षामन्त्री र विज्ञहरुले दाबी गरेका छन् ।

बिम्स्टेकलाई आर्थीक सहकार्यको क्षेत्र बनाउनुपर्नेमा सैन्य अभ्यासलाई बढी जोड दिएको भन्दै त्यसको आलोचना भएको हो । यही भदौ २५ मा भारतको पुनेमा सैन्य अभ्यास सुरु हुंदैछ । जसमा नेपाल पनि ३० जना सैनिक अधिकृतसहित उक्त अभ्यासमा सहभागीता जनाउंदैछ । अभ्यासमा सहभागीता जनाउने निर्णय सरकारले यसअघि नै गरिसकेको छ ।

भारत आफ्नो छातामुनी अभ्यासको आयोजना गरेर चीन र पाकिस्तानलाई सैन्य तागत देखाउने अभियानमा लागेको विश्लेषकहरुको दाबी छ । यस्तो अभ्यासमा नेपालले भाग लिंदा त्यसले कुटनितिक सम्बन्धमा असर पर्ने बताइन्छ । सरकारले भने त्यसको बचाउ गर्दै आएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने सैन्य अभ्यास कुनै पनि मुलुकप्रति लक्षित नभएको बताउंछन् । उनले आतंकवाद र संगठित अपराध नियन्त्रण एवं विपद् व्यवस्थापनको अनुभव साटासाट गर्न सैन्य अभ्यास हुन लागेको बताए । यसमा अरु कुनै स्वार्थ नभएको ज्ञवालीको दाबी भएपनि विज्ञहरुले भने त्यसलाई अस्विकार गरेका छन् ।

दक्षिण र दक्षिण पूर्वी एसियाका सात मुलुक सदस्य रहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छातामा हुन लागेको उक्त अभ्यासप्रति चीन र पाकिस्तानको समेत चांसो रहेको स्रोतको दाबी छ । नेकपाका स्थायी सदस्य समेत रहेका पुर्व रक्षामन्त्री भिम रावलले समेत सैन्य अभ्यासको विरोध गरेका छन् ।

उनले बिम्स्टेक आर्थिक र पारस्परिक हितका लागि स्थापित भएको क्षेत्रीय संगठन भएको भन्दै यसमा सैन्य अभ्यास गर्नु र नेपालले सहभागीता जनाउनु आपत्तिजनक भएको बताए । ‘यो हतारमा गरिएको आपत्तिजनक निर्णय हो, यसमा नेपाली सेना सहभागी गराउनु हुंदैन ।’ पुर्व रक्षामन्त्री रावलले भने । उनले सरकारको निर्णय संविधानको मर्म विपरित भएको दाबी गर्दै यो निर्णय पुर्नविचार गर्नुपर्ने माग समेत गरेका छन् ।

परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले बिम्स्टेकको चार्टर नै नभएको अवस्थामा सैन्य अभ्यास हुनु आपत्तीजनक काम भएको बताए । उनले सबैभन्दा पहिले यसको वडापत्र तयार हुनुपर्नेमा जोड दिए । उनले बिबादित कार्यमा लाग्नु नेपालका लागी घातक हुनसक्ने दाबी गरे ।

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले पनि सैन्य अभ्यासमा सहभागी हुंदा गृहकार्य गरेर मात्र निर्णय लिनुपर्ने बताए । उनले कुनै एउटा मुलुकले अरू मुलुकप्रति लक्षित गरे जस्तो देखिने सैन्य अभ्यासमा जांदा त्यसको रणनितीक पाटो पनि हेर्नुपर्नेमा जोड दिए । पुर्वरथी शर्माले भने ‘देशभित्रै सेना परिचालन गर्दा त एउटा नियम छ तर, देश बाहिर सैन्य अभ्यासमा सहभागीता जनाउने कुरामा अलिकति गृहकार्य पुगेन जस्तो लाग्यो।’

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेकको सम्मेलनमा सम्बोधन गर्दा समेत सैन्य अभ्यासमा जोड दिएका थिए । धेरैले भारतको रणनितीक स्वार्थमा नेपाल सहायक बन्न नहुने बताएका छन् । भारतले पछिल्लो समय पाकिस्तानका कारण सार्कलाई निश्क्रिय पार्न खोजेको र बिम्स्टेक र विविआईएनलाई अघि बढाउन खोजेको विश्लेषण भइरहेको बेला हुन लागेको सैन्य अभ्यास अर्थपूर्ण छ ।

विम्स्टेकको सम्मेलनमा चीनसंग सुमधुर सम्बन्ध रहेको थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचाले विआरआईको बारेमा छुट्टै सेसन राखेर छलफल गरौ भन्दै राखेको प्रश्न नेपालले अस्विकार गरेको चर्चा पनि छ । चीनले पनि भारतले यो फोरमलाई उपयोग गर्न खोजेको रुपमा बुझेको एक कुटनितिज्ञले बताए । थाइल्याण्डका प्रधानमन्त्री प्रयुटको प्रस्ताव त्यसैको काउण्टरमा आएको उनको दाबी छ ।

पुर्व रक्षासचिव बामन न्यौपानेले भारतमा हुन लागेको सैन्य अभ्यास चीनलाई देखाउन आयोजना भएको हुन सक्ने भन्दै त्यसम नेपाल सचेत हुनुपर्ने बताउंछन् । उनले अन्य छिमेकी मुलुकसंगको सम्बन्धमा असर नपर्ने गरी सैन्य अभ्यास गर्दा भने फरक नपर्ने बताए ।

दक्षिण र पूर्वी एसियाका देशहरु नेपालसहित भारत, भुटान, बांग्लादेश, श्रीलंका, थाइल्यान्ड र म्यान्मार सैन्य अभ्यासमा सहभागी हुने निश्चित भइसकेको छ । सैन्य अभ्यास भारतको यही भदौ २५ देखि ३१ गतेसम्म भारतको महाराष्ट्रस्थित पूणेमा हुनेछ । त्यसका लागी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement