काठमाण्डु- पत्रकार भूपाल लुइँटेललाई ‘गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३’ प्रदान गरिएको छ। गिद्दे प्रेस एचडीको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनलाई २५ हजार रुपैयाँ राशिसहित पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रमा विकसित नयाँ प्रविधिलाई व्यवस्थित गर्दै यसको विकास र विस्तार गर्नुपर्ने बताए। उनले सरकारले आमसञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकमार्फत पत्रकारिता क्षेत्रलाई कानुनी आधार प्रदान गर्ने काम गरिरहेको जानकारी दिए।
प्राध्यापक तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले युट्युबलाई सञ्चारमाध्यमका रूपमा विकास गर्न स्पष्ट नीति र प्रणाली आवश्यक रहेको बताए। उनले नयाँ प्रविधिको तीव्र विकासलाई राज्यले व्यवस्थित गर्नुपर्नेमा जोड दिए।
गिद्दे प्रेस एचडीका सम्पादक ठाकुर बेलवासेले पत्रकारितामा क्रियाशील व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए।
पुरस्कार ग्रहण गर्दै लुइँटेलले सम्मानले थप जिम्मेवारीबोध गराएको बताए। उनले एआईको तीव्र विकासले पत्रकारिताको मानवीय पक्ष, पत्रकारको बौद्धिक क्षमता र सिर्जनशीलतामा चुनौती थपेको उल्लेख गर्दै यसको उचित प्रयोग र नियमनबारे समयमै बहस गर्नुपर्नेमा जोड दिए।



प्रतिक्रिया