राष्ट्रियसभामा अध्यादेश पारित गर्न सघाउन जसपा नेपालका तीन शर्त

राष्ट्रियसभामा अध्यादेश पारित गर्न सघाउन जसपा नेपालका तीन शर्त


काठमाण्डु – सरकारले ल्याएका ६ अध्यादेश पारित गर्न सघाउन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन शर्त तेर्स्याएको छ ।

निकटस्थ स्रोतका अनुसार जसपा नेपालका अध्यक्ष उपन्द्र यादवसँग प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको टेलिफोन संवाद र अन्य नेताहरूसँगको अनौपचारिक कुराकानीमा राष्ट्रिय सभामा सघाउनका जसपा नेपालले तीन सर्त तेर्स्याएको हो ।

अध्यक्ष यादवसँग निरन्तर संवादमा रहेका कांग्रेस एमालेका नेताहरूका अनुसार जसपा नेपालले पहिलो सर्त संघीय सरकारमा उपप्रधानमन्त्री र गृह मन्त्रालय पाउनुपर्ने राखेको छ । दोस्रो सर्त मधेस प्रदेश सरकारमा मुख्यमन्त्री पद पाउनुपर्ने छ । मधेस प्रदेशमा कांग्रेस एमालेको समर्थनमा जनमत पार्टीका नेता सतिशकुमार सिंह मुख्यमनत्री छन् ।

तेस्रो सर्त आफ्नो पार्टीबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टीका तर्फबाट संघीय सरकारमा सहभागी मन्त्रीलाई बर्खास्त गर्नुपर्ने छ । राईको पार्टीबाट खानेपानी मन्त्रीमा प्रदीप यादव र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा नवलकिसोर साह सुड्डी छन् ।

राष्ट्रिय सभामा जसपा नेपालको समर्थनबिना बहुमत नपुग्ने भएपछि यादवले कांग्रेस एमालेलाई अत्तो थापेका हुन् ।

सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व , निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार अनि लगानी अभिवृद्धिसम्बन्धी विद्यमान ऐनहरूलाई संशोधन गर्ने र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको थियो ।