कैलालीमा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते


टिकापुर – कैलालीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । बसको ठक्करबाट एक युवतीको मृत्यु भएपछि स्थानीयले गरेको आन्दोलनलाई तितरवितर पार्न चलाएको गोली लागेर दुई जना आन्दोलनकारी घाइते भएका हुन् ।

घाइते हुनेमा लम्कीचुहा नगरपालिका–१ का १८ वर्षीय दीपक सन्ज्याल र २५ वर्षीया कृष्ण काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले जानकारी दिए ।

उनले आक्रोशित भिडले इलाका प्रहरी कार्यालय लम्कीभित्र पसी प्रहरीलाई हातपात गर्न थालेपछि गोली चलाइएको बताए । घाइते दुबै जनालाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको पनि उनले जानकारी दिए ।

मंगलबार बिहान लम्कीचोकमा ना ६ ८८३३ नम्बरको बसले लम्कीचुहा नगरपालिका १ बस्ने २२ वर्षीया कमला देवकोटालाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । घटनालगत्तै स्थानीयले सडक अवरुद्ध पार्दै आन्दोलन चर्काएका थिए । अहिले स्थिति नियन्त्रणमा आएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement