काठमाण्डु — कैलालीमा अन्तरजातीय विवाह गरेर जङ्गलमा बसेको जोडी घर पुग्ने बित्तिकै युवतीका आफन्तले उनीहरूमाथि आक्रमण गरेका छन् । अन्तरजातीय विवाह गरेका कैलालीको भजनी नगरपालिका ७ का प्रकाश विश्वकर्मा र मालती रावल २१ दिन पछि जङ्गलबाट घर पुगेका थिए ।
घर पुगेका उनीहरूमाथि युवतीका आफन्तले आक्रमण गरेको भजनी नगरपालिकाकी उप प्रमुख छायादेवी देवकोटाले काठमाण्डुपाटीलाई बताइन् ।
युवतीका आफन्तले जबरजस्ती लगेको उनले बताइन् । उप प्रमुख देवकोटाले भनिन्, ‘उनीहरु जङ्गलबाट घर आएपछि युवतीका आफन्तले आक्रमण गरेको खबर पाएँ । अहिले युवतीका आफन्तले युवतीलाई लगेका छन् । युवक भने आफ्नै बुबासँग छन् । हामीले प्रहरी प्रशासनलाई पनि खबर गरेका छौं । अब सबैलाई एकै ठाउमा बोलाएर छलफल गर्नेछौँ ।’
ती जोडीले सामाजिक सञ्जाल मार्फत आफुहरुलाई ज्यान मार्ने धम्कि आएकाले जङ्गलमा लुक्न बाध्य भएको बताएका थिए ।
प्रहरीले दुवै पक्षलाई छलफलमा बोलाएको छ । इलाका प्रहरी कार्यालय भजनीले घटनाबारे जानकारी लिन दुवै पक्षलाई बोलाएको हो ।
प्रतिक्रिया