कालापानी र लिम्पियाधुरामा पनि सुरक्षा बल राख्ने सरकारको तयारी


काठमाडौं – सरकारले दार्चुलामा सीमा सुरक्षा विस्तार गर्ने तयारी गरेको छ । सोमबार संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले दार्चुलामा सीमा सुरक्षा विस्तार गर्ने तयारी गरेको जानकारी दिएका हुन् ।

गृहमन्त्री थापाका अनुसार सचिवस्तरमा रहेको समितिबाट यो समस्या समाधान गर्ने तयारी गरिएको छ । ‘सीमा समस्या हल गर्न सिंगो राष्ट्र एक भएको छ । सीमा सुरक्षाको जिम्मेवारी गृहमन्त्रालयको हो’, उनले भने, ‘दार्चुलामा अहिले पनि सीमा सुरक्षा बल छ । तर विवादित क्षेत्रमा सीमा सुरक्षा बल राख्न सकिएको छैन ।’ गृहमन्त्री थापाले भारतबाट भएको नेपाली भूमि अतित्रक्रमणको समस्या आगामी दिनमा हल गरेसँगै लिम्पियाधुरा र कालापानीमा पनि सीमा सुरक्षा बल राख्ने जानकारी दिए ।

भारतले भर्खरै जारी गरेको नयाँ नक्सामा नेपाली भूमि समेत आफ्नोतर्फ देखाएपछि केही दिनयता नेपाल र भारतबीच सीमा विवाद चुलिएको छ । समितिको आजको बैठकमा गृहमन्त्री थापासँगै भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्याल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement