काठमाण्डु– सांसदहरु कालो चश्मा लगाएर प्रतिनिधिसभा बैठकमा सहभागी हुन नपाउने भएका छन् ।
सभामुख डोलप्रसाद अर्याल (डिपी) ले कालो चश्मा लगाएर संसद् बैठकमा सहभागी हुन प्रतिबन्ध लगाउने तयारी गरेका हुन् ।
सभामुख अर्यालले बुधबार कार्यव्यवस्था परामर्श समिति बैठकमा सबै दलका प्रमुख सचेतक र सचेतकलाई बैठकमा आउँदा कालो चश्मा नलगाउन आफ्नाा सांसदलाई सूचित गराउन भनेका थिए ।
सांसदहरु कालो चश्मा लगाएर संसद् आउने गरेको विषयमा आलोचना भएकाले प्रतिबन्ध लगाउनुपर्ने अवस्था आएको सभामुखले बताए ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सभामुखले कालो चश्मा नलगाउन आ–आफ्ना सांसदलाई सर्कुलर गर्न भनेको जानकारी दिए ।
‘जनस्तरबाट समेत व्यापक प्रश्न उठेको छ । संसदमा आउँदा कालो चश्मा नलगाउन आ–फ्ना दलका सांसदहरुलाई भन्नुहोला’, सभामुखको भनाइ उद्धृत गर्दै दुलालले भने ।
प्रतिनिधिसभा नियमावलीमा सांसदहरुको पोशाक सभामुखले तोके बमोजिम हुने व्यवस्था छ । तर, त्यसअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको सुझाव लिनुपर्नेछ ।
सभामुखको आग्रहपछि विपक्षी दलका प्रमुख सचेतकहरुले प्रधानमन्त्री, मन्त्रीहरु र सत्तारुढ रास्वपाका सांसदहरु नै कालो चश्मा लगाएर संसद् आउने गरेको विषय उठाएका थिए ।
त्यसपछि अर्यालले सत्तारुढ रास्वपाका सचेतक प्रकाशचन्द्र परियारलाई प्रधानमन्त्रीसहित सरकार र रास्वपा सांसदलाई उक्त खबर पु-याउन आग्रह गरे ।
दुलालका अनुसार विपक्षी दलका सचेतकले संसारको कुनै पनि संसदमा तोकिएको पोशाक र लोगो अनिवार्य लगाउनैपर्ने व्यवस्था भए पनि नेपालमा नभएको विषयमा सभामुखको ध्यानाकर्षण गराए ।
संसदमा आउँदा के लगाउने र के नलगाउने भन्ने विषय संसदको मर्यादासँग सम्बन्धित हुने विषयमा आफूले सभामुखको ध्यानाकर्षण गराएको बताए ।
‘संसदमा कालो चश्मा लगाउनुभएन र मर्यादित पोशाक लगाएर आउनुपर्छ भन्नेबारेमा सभामुख र हामी प्रमुख सचेतक/सचेतकहरुको समान धारणा राह्यो’, दुलालले काठमाण्डु पाटीसँग भने, ‘सभामुखले रास्वपा सचेतकलाई सरकारसँग कुरा गर्न भन्नुभयो, हामीले सभामुखले नै कुरा गर्दा राम्रो हुने सुझाव दियौं ।
उनका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र रास्वपाका धेरैजसो सांसदले कालो चश्मा लगाउने गरेको विषयमा बैठकमा छलफल भएको थियो ।
‘कालो चश्मा रास्वपाको ब्राण्ड वा ड्रेस कोडा संस्कृतिको रुपमा संसदमा भित्रिएको छ’, दुलालले भने, ‘मेरो ख्यालमा हाम्रोजस्तो संसदीय लोकतन्त्र भएको संसारको कुनै पनि देशमा यस्तो छैन होला ।’




प्रतिक्रिया