कमल थापाले भने –जनताको म्याण्डेटअनुसार नै वाम गठबन्धनको नेतृत्वमा सरकार बन्नुपर्छ


काठमाडौं– उपप्रधान एवम् उर्जामन्त्री कमल थापाले मुलुक अब नयां सरकार गठनको ट्रयाकमा हिडेकोले अब वाम गठबन्धनको नेतृत्वमा सरकार बनाउनुपर्ने स्पष्ट पारेका छन् ।

 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उपप्रधानमन्त्री थापाले चुनाव सम्पन्न हुनेवित्तिकै सरकार गठन हुनुपर्ने बेलामा प्रमुख दलका शीर्ष नेताहरुले संविधान बनाउंदा गम्भिर भूल गरेकोले अहिले संवैधानिक जटिलताहरु उत्पन्न भएको बताएका हुन् ।

 

उनले भने,‘अहिले देखिएको संवैधानिक जटिलताहरुमा हामीले संविधान जारी गर्दा पर्याप्त ध्यान दिईएन, खासगरी चुनाव सम्पन्न भएपछि नयां सरकार गठन हुनुपर्ने हो, तर ठूला दलहरुले सिर्जना गरेको जटिलताका कारण नयां सरकार गठनमा ढिलाई भयो, अब चाही सरकार निर्माणको ट्रयाकमा हिंडेको छ, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसदले पूर्णता पाउंछ, संसदले पूर्णता पाएको एक हप्ताभित्रै नयां सरकार गठन हुन्छ।’

 

 

 उनले सरकार गठनमा भएको ढिलाईप्रति कसैले कसैलाई दोष लगाउन आवश्यक नरहेको जिकिर गरे । ‘जनताले बाम गठबन्धनलाई नयां सरकार गठनको लागि म्याण्डेट दिएका छन्, जनताको म्याण्डेट अनुसार वाम गठबन्धनको नेतृत्वमा सरकार बन्नुपर्छ, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयां सरकार गठन गर्न असफल हुनुभयो भने जनताप्रतिको ठूलो धोका हुन्छ।’ थापाले भने ।

 

जनताको म्याण्डेट अनुसार वाम गठबन्धनको सरकार नबने मुलुकमा फेरि राजनीतिक अस्थिरता ल्याउने र मुलुकलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउन बाधा उत्पन्न हुने उल्लेख गर्दै थापाले भने,‘जनताको म्याण्डेट अनुसार नै वाम गठबन्धनको सरकार बनाउनुपर्छ, हामी यही चाहन्छौं।’

प्रतिक्रिया दिनुहोस
Advertisement